काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीलाई गृह मन्त्री ओमप्रकाश अर्याल हटाउन काठमाडौँ महानगर मेयर बालेन्द्र शाहले दबाब दिएको समाचारप्रति खण्डन गरेकी छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्धारा बिहीबार जारी विज्ञप्तिमा कसलाई मन्त्री बनाउने हटाउने प्रधानमन्त्रीको अधिकार क्षेत्र भएकाले कसैको प्रभाव नहुने प्रष्ट पारेका हुन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनबाट बनेको सरकारका गृहमन्त्री अर्यालय निर्वाचन गराउँदासम्म रहने बताएकी छन् । आगामी निर्वाचन सम्पन्न गर्नका लागि गृहमन्त्री अर्याल वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयको प्रेस विज्ञप्ति
विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ।
कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।
जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ।
यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।
मिति २०८२।०७।१३
आदर्शकुमार श्रेष्ठ
प्रमुख स्वकीय सचिव