काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले ज्यान मार्ने धम्की दिएको भन्दै समाजवादी प्रेस संगठन नेपालले भर्त्सना गरेको छ । पूर्वउद्योगमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले जनआस्था साप्ताहिकमा प्रकाशित ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’समाचारलाई लिएर सोही पत्रिकाका सम्पादक तथा समाजवादी प्रेस संगठन नेपालका सल्लाहकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीयुक्त स्टाटस लेखेका थिए ।
उक्त घटनाप्रति समाजवादी प्रेस संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको प्रेस संगठनमा महासचिव रोहित दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।
‘पत्रकारमाथि यस किसिमको धम्कीपूर्ण अभिव्यक्ति आउनु स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो । पत्रकारले जनचासोका विषयमा प्रश्न सोध्नु, समाचार लेख्नु वा आलोचना गर्नु उसको पेसागत दायित्व हो’, महासचिव दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्कीसमेत दिने कार्य कुनै हिसाबले पनि न्यायसङ्गत हुन सक्दैन ।’ समाजवादी प्रेस संगठन नेपाल यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भर्त्सना गर्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।
प्रेस विज्ञप्ति
पूर्वउद्योगमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले जनआस्था साप्ताहिकमा प्रकाशित भएको ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’ नामक शीर्षकको समाचारलाई लिएर जनआस्था साप्ताहिकका सम्पादक, जनआस्था डटकमका अध्यक्ष एवं समाजवादी प्रेस संगठन नेपालका सल्लाहकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीपूर्ण स्टाटस सार्वजनिक गरेको घटनाप्रति समाजवादी प्रेस संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारमाथि यस किसिमको धम्कीपूर्ण अभिव्यक्ति आउनु स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो । पत्रकारले जनचासोका विषयमा प्रश्न सोध्नु, समाचार लेख्नु वा आलोचना गर्नु उसको पेसागत दायित्व हो । त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्कीसमेत दिने कार्य कुनै हिसाबले पनि न्यायसंगत हुन सक्दैन ।
तसर्थ, समाजवादी प्रेस संगठन नेपाल यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भत्र्सना गर्दछ । संगठनले तत्काल यो घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउँछ ।
सत्य र तथ्यका पक्षमा कलम चलाउने पत्रकारहरूलाई धम्की र त्रासमा पार्ने प्रवृत्तिले लोकतन्त्रको जग कमजोर पार्दछ । सम्पादक किशोर श्रेष्ठलगायत सम्पूर्ण सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न राज्य जिम्मेवार बन्नुपर्ने संगठनको ठहर छ ।
अन्त्यमा, प्रेस स्वतन्त्रता लोकतन्त्रको आत्मा हो । यसको संरक्षण गर्नु सबै राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो भन्ने विषय दृढतापूर्वक स्मरण गराउँदछौँ ।
रोहित दाहाल
महासचिव