जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन्- प्रचण्ड

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् ।

दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रममा उनले अहिलेको राजनीतिक समस्या समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताएका हुन् ।

संयोजक दाहालले भने, ‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ, संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी फागुन २१ गते तोकिएको निर्वाचन हो । यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।’

अन्तरिम सरकार तोकिएको मितिमा नै निर्वाचन गर्न गम्भीर रहेको आफूले पाएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले अन्तरराष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

जेनजी आन्दोलनको भावना सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘निर्वाचनबाट आउने नयाँ संसद्ले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ, जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ ।’

आसन्न निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै संयोजक दाहालले मुलुकमा थप अराजकता सिर्जना हुन नदिन राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु अपरिहार्य रहेको बताए ।

जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हो भन्दै उनले थपे, ‘भदौ २३ गते भएको आन्दोलनमार्फत युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ, उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन् ।’

माओवादी नेता वर्षमान पुनले जेनजी युवाको चाहना र भावना सम्बोधन गर्नुको कुनै विकल्प नरहेको जनाउँदै जेनजी आन्दोलनपछि आफ्नो पार्टीले सोचविचार र नीति बदलेको बताए ।

सम्बन्धित समाचार