जोन्सन एण्ड जोन्सन र केन्भ्यूलाई ४५ मिलियन डलरको जरिवाना, बेबी पाउडरमा छ क्यान्सरको जोखिम

0 Shares

काठमाडौँ । अमेरिकी अदालतले जोन्सन एण्ड जोन्सन र केन्भ्यूलाई ४५ मिलियन डलर जरिवाना लगाएको छ। पाउडरको प्रयोगले एक महिलाको मृत्यु भएको भन्दै यी कम्पनीविरूद्ध मुद्दा दायर गरिएपछि अदालतले जरिवाना सुनाएको हो ।

जोन्सन एन्ड जोन्सन र केन्भ्यू कम्पनी बच्चाहरूसँग सम्बन्धित सामाग्रीको उत्पादन तथा बिक्रीकालागि चर्चित छन्। सामान्यतया,जे एण्ड जे कम्पनीका उत्पादनहरू सबैको घर घरमा नै पाइन्छ। तर यी उत्पादनको प्रयोगका कारण कसैको मृत्यु भयो भन्ने सुन्दा सर्वसाधारण त्रसित बन्न सक्छन् । तर यो अमेरिकामा घटेको घटना हो ।

पाउडरमा रहेको एस्बेस्टोसले महिलालाई क्यान्सर भएको र सोही कारण उनको मृत्यु भएको थियो । यस मुद्दामा लामो सुनुवाइ भएपछि अदालतले कम्पनीले बेचेको टाल्कम बेबी पाउडरमा एस्बेस्टोस रहेको ठहर गरेको छ । मृतक महिलाको परिवारले पाउडरको प्रयोगले नै उनलाई क्यान्सरजस्तो घातक रोग लागेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

सन् २०२० मा क्यान्सरका कारण थेरेसा गार्सियाको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । गार्सियाको मृत्युमा दुवै कम्पनी जिम्मेवार रहेको आरोप लगाउँदै परिवारले मुद्दा दायर गरेको थियो। गार्सियाकी छोरी स्टेफनी साल्सेडोले उनको परिवारको तर्फबाट मुद्दा दायर गरेकी थिइन् ।

तर जोन्सन एण्ड जोन्सनले भने यसको टेल्क आधारित उत्पादनहरूले क्यान्सर ननिम्त्याउने दाबी गर्दै आएको छ । शुक्रबार राति सिकागोमा भएको मुद्दाको सुनुवाइमा न्यायधिशहरूले कम्पनीलाई ४५ मिलियन डलर जरिवानाको फैसला सुनाएका थिए । कम्पनीले उक्त रकम पीडित परिवारलाई क्षतिपूर्तिका रूपमा बुझाउनुपर्नेछ ।

सो परिवारका वकिल जेसिका डीनले न्यायाधिशहरूले जोन्सन एण्ड जोन्सन र केनभ्यूको ट्याल्कम पाउडरमा क्यान्सर हुन सक्ने र उनीहरूले दिएको धोकाको विश्वास गर्दै यो फैसला गरेको भन्दै परिवारले धन्यवाद दिएका छन् । -एजेन्सीको सहयोगमा ।

सम्बन्धित समाचार