नेकपा बैठकः विप्लवलाई प्रचण्डको तारान्तर फोन

0 Shares

काठमाडौं । कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जारी छ । गत २६ गतेदेखि जारी बैठकमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता, वामपन्थी ध्रुवीकरण र समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।

माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेसँगै यो विषयले पार्टीमा प्रवेश पाएको हो । बैठकमा विप्लवले माओवादी केन्द्रसँगको एकता प्रस्ताव गरेपछि नेताहरूले आआफ्ना धारणा राखिरहेका छन् ।

नेताहरूले विप्लवलाई आफ्नै नेतृत्वमा माओवादीसहित वामपन्थी शक्तिहरूबीच एकता गरेर जानुपर्ने सुझाव दिएका छन् । अहिलेको विप्लवको नेतृत्व आवश्यक देखिएकाले अरूसँग समाहित भएर जान नहुने तर्क गरेका छन् ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाको बैठकअघि विप्लवलाई उनकै निवास ललितपुरको हरिसिद्धीमा पुगेर भेटेका थिए । यसबेला उनले विप्लवलाई पार्टी एकतामा आउने गरी बैठकबाट निर्णय गराउन आग्रह गरेको नेकपाका एक नेताले जानकारी दिए ।

‘कपिलवस्तुमा नेकपाको बैठक सुरु भएपछि प्रचण्डले विप्लवलाई तारान्तर फोन गरेको ती नेताले बताए । हामी बैठकमा छलफल गरिरहेका छौँ, प्रचण्डले विप्लवलाई तारान्तार फोन गरेको जानकारी गराउनु भयो,’ नेकपाका ती नेताले भने, ‘हामीले माओवादीसँग एकता हैन नेतृत्व गरेर जानुपर्छ भनेर सुझाव दिएका छौँ, अब कुनै शक्तिसँग विलय भएर जानु हुँदैन भन्ने सबैको आग्रह छ ।’

प्रचण्डले विप्लवलाई पार्टीको महासचिवको प्रस्ताव गरी एकता आउन आग्रह गरेको माओवादी केन्द्रका नेताहरू बताउँछन् । विप्लवलाई तत्काल महासचिव दिएर पछि नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिएका छन् । तर, विप्लवले प्रचण्डका कुरालाई पत्याउन सकेका छैनन् । जसका कारण विभिन्न कोणबाट छलफल र भेटवार्ता जारी राखेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि विप्लवको महत्वकांक्षा बढ्दै गएको छ । सके आफ्नै नेतृत्वमा माओवादी घटकलाई ल्याएर अघि बढ्ने सोच बनाएको नेताहरूले बताएका छन् । यदि, त्यसो हुन नसके नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, माओवादी केन्द्रका नेता जनार्दन शर्मासहित अरू ससाना कम्युनिष्ट पार्टीलाई जोडेर नयाँ पार्टी बनाउने तयारीमा लागेका छन् ।

यसका लागि पटक-पटक यी नेताहरूबीच संयुक्त कार्यक्रम गरेर एकताको माहोल बनाइरहेका छन् । यद्यपि, यी कार्यक्रम भए पनि एकताको आकार लिइसकेको छैन । अहिले कपिलवस्तुमा जारी नेकपाको बैठकले एकताको महत्वपूर्ण निर्णय गरी त्यसैले आगामी यात्रा तय गर्ने नेकपाका नेताहरूले बताउने गरेका छन् ।

सम्बन्धित समाचार