विप्लवकै नेतृत्वमा माओवादी घटक सहित क्रान्तिकारीहरु एकता हुनुपर्ने सुझाव

0 Shares

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाएर जानुपर्ने सुझाव आएको छ । कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा आइतबारदेखि जारी केन्द्रीय समितिको विशेष बैठकमा विप्लवकै नेतृत्वमा कम्युनिस्ट केन्द्र बनाउनुपर्नेमा सुझाव आएको स्थायी समिति सदस्य सन्तोष बुढाले जानकारी दिए ।

‘सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता र ध्रुवीकरण आजको वस्तुनिष्ठ आवश्यकता हो । विप्लवको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाएर जानुपर्ने धेरेको सुझाव आएको छ । यथास्थितिमा रहेका राजनीतिक दल, सङ्गठन, नेतृत्व, नीति तथा कार्यक्रमबाट नयाँ कम्युनिस्ट केन्द्र सम्भव छैन । यही कुरा विप्लवले प्रचण्ड, माधव लगायत नेताहरूसमक्ष राख्नुभएको थियो’, उनले भने ।

बुढाले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न विदेशी साम्राज्यवादी शक्तिहरू सक्रिय रहेकाले पनि नयाँ कम्युनिस्ट केन्द्र बनाएर जानुपर्ने सबैको एक मत रहेको जिकिर गरे । मंगलबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेको र आज पोलिटब्युरो सदस्यहरूले धारणा राखेपछि विप्लवले बैठकमा उठेका प्रश्नको जवाफ दिने उनले बताए ।

‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदन विप्लवले पेस गरेका थिए । जेनजी विद्रोहपछिको राजनीतिक अवस्थाबारे विश्लेषण, पार्टीको जिम्मेवारी र आगामी कार्यक्रम रहेको छ । प्रतिवेदनमाथि विभिन्न कोणबाट विश्लेषण भए पनि निर्णय नभइसकेको बुढाले बताए । बिहीबारसम्म बैठक सम्पन्न हुने उनले जानकारी दिए ।

माओवादी केन्द्रले समाजवादी मोर्चाभित्रका दलहरु एकता गरेर जानुपर्ने भन्दै संवाद अघि बढाएका बेला नेकपा नेताहरुले विप्लवकै नेतृत्वमा धुर्वीकरण हुनुपर्ने सुझाव दिएका हुन् । माओवादी घटकहरु विप्लवकै नेतृत्वमा एकतामा आउनुपर्ने केन्द्रीय सदस्यहरुले आफ्नो मत राखेका हुन् ।

 

सम्बन्धित समाचार