काठमाडौं । नेकपा एमालेसँग फुटेर नयाँ पार्टी गठन भएको चार वर्षपछि नेकपा एकीकृत समाजवादी फुटको बाटोमा उन्मुख भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद उत्कर्षमा पुगेको छ ।
दुई नेताबीच पार्टीलाई नेकपा माओवादी केन्दसँग एकता गर्ने विषयलाई विवाद चर्किएको हो । अध्यक्ष नेपालले पार्टीमा प्रयाप्त छलफल नगरी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एकता प्रक्रिया अघि बढाएपछि विवाद थप उत्कर्षमा पुगेको हो ।
अध्यक्ष नेपाल माओवादी केन्द्रसँग एकता गरेर दोस्रो तहको नेता भएर बस्न तयार भइसकेको एकीकृत समाजवादीका एक नेताले बताए । यता, जेनजी आन्दोलनकारीले घरमा आगो लगाइदिँदा घाइते भएकी श्रीमतीलाई उपचार गर्न दिल्ली पुगेका सम्मानित नेता खनालले विरोध जनाएका छन् ।
‘माओवादीसहित समाजवादी मोर्चासँग एकता गन निरन्तर छलफल भइरहेको छ, अध्यक्ष नेपाल एकता गर्न तयार भइसक्नुभएको छ, यो महिनाभित्र एकताले पूर्णता दिने देखिन्छ,’ ती नेताले भने, ‘झलनाथ कमरेडसहित महासचिव घनश्याम भुसालसँगै केही नेताहरु माओवादीसँग एकता गर्न हुँदैन भन्ने छ, यो हुँदा उहाँहरु एमालेसँगै एकता गर्नुहुन्छ जस्तो छ ।’
अध्यक्ष नेपाल माओवादीसँग एकता गरेर बलियो शक्ति बनाउन सकिने निष्कर्षमा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध राम्रो नभएकाले अध्यक्ष नेपाल माओवादीसँग एकता गरेर जाने पक्षमा पुगेका हुन् ।
तर, महासचिव भुसाल माओवादी र एमाले दुवै शक्तिसँग एकता नगरी वैकल्पिक शक्ति बनाउनुपर्ने पक्षमा लागेको ती नेताले बताए । महासचिव भुसाल नेकपा महासचिव नेत्रविक्रम चन्दसहित माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग मिलेर बलियो शक्ति बनाउन सकिन्छ कि भनेर लागिपरेका छन् । त्यसका लागि भुसाल, चन्द र शर्माले तीन विभिन्न ठाउँमा संयुक्त कार्यक्रमसमेत गरेका थिए ।
तत्कालीन एमाले विभाजन भएपछि अध्यक्ष नेपाल, सम्मानित खनाल एक ठाउँमा आएर एकीकृत समाजवादी गठन गरेका थिए । जनेजी आन्दोलनपछि पुराना दल नेताहरु संकटमा परेपछि अध्यक्ष नेपाल माओवादीसँग एकता गरेर बलियो शक्ति बन्न खोजेका छन् । अर्का नेता खनाल पुरानै पार्टी एमालेमा प्रवेश गर्ने सोचमा छन् ।