काठमाडौं । नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन रोकिएको बन्दसत्र अनिश्चित कालका लागि बन्द भएको छ ।
नेताहरूबीच गुटको विवाद चर्किँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेका थिए । आइतबार संगठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका थिए । मंगलबारसमेत सूचना जारी गरेर बन्दसत्र सुरु हुन नसकेको अध्यक्ष मण्डलले जनाएको छ ।
सोमबार नै सुरु हुने भनिएको बन्दसत्र मंगलबारलाई सारिएको थियो । तर, आज आन्तरिक तयारी पूरा नभएको भन्दै अर्को सूचना जारी नहुँदासम्म बन्दसत्र सुरु नहुने अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले जनाएका छन् ।
शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा मनोनीत प्रतिनिधि छनोट र अध्यक्ष मण्डलबारे विवाद भएपछि झडपमा परिणत भएको एक पक्षको आरोप छ ।
एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष को हुने भन्नेमा चर्को विवाद भएपछि अधिवेशन अनिश्चित बन्दै आएको छ ।