काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनमा पछिल्लो तथ्यांकअनुसार ७४ जनाको ज्यान गइसकेको छ । आन्दोलनबाट व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहित राज्यका अधिकांश सरकारी संरचना ध्वस्त हुँदा राज्य खरानीमाथि उभिएको छ । सरकारी तथा निजी गाडी र मोटरसाइकल मात्रै दश हजारभन्दा बढी जलेर खरानी भएका छन् । यद्यपि, आधिकारिक तथ्यांक बाहिर आएको छैन ।
जेनजी पुस्ताको आन्दोलन विस्तारै सेलाउँदै गएपछि सेनाको घेराबाट बाहिर निस्किएका पुराना दलका शीर्ष नेताहरू क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनलाई समर्थन जनाउन थालेका छन् । जेनजी पुस्ताको पहिलो माग पुराना दलका शीर्ष नेता बिदा भ गराउने थियो । यस्तै, युवालाई नेतृत्वमा ल्याएर भ्रष्टाचार निर्मुल पार्दै सुशासन कायम हुनुपर्ने माग राख्दै सडकमा उत्रिएका थिए । तर, पुराना दलका शीर्ष नेताहरू नैतिकताका आधारमा राजीनामा दिई युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उल्टै लज्जित बनाउने गरी निर्वाचनको माहौल बनाउन केन्द्रित छन् ।
जेनजी आन्दोलनबाट बच्न राजीनामा दिएका पुराना पार्टीका नेता र जन वर्गीय संगठनका नेताहरूले धमाधम राजीनामा फिर्ता लिइरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कुनै हालतमा राजीनामा नदिने अड्डी कसेका छन् । जेनजी आन्दोलनका बेला सेनाको घेरामा हुँदा राजीनामा दिएका मुख्यमन्त्री सिंहले संविधान दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा कसैले चाहेर वा षड्यन्त्र गरेर राजीनामा नदिने दाबी गरे । संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्नुपर्ने प्रमुख जिम्मेवारी भएकाले मुख्यमन्त्रीबाट राजीनामा दिन नमिल्ने भन्दै राजीनामाको बचाउ गरे ।
उता जेनजी आन्दोलन कुनै पार्टीको नभएर युवा पुस्ताहरू स्वतह: स्फुर्त रूपमा भ्रष्टाचार, घुसखोरी, अनियमितता र पाका नेताहरू बिदा हुनुपर्ने भन्दै सडकमा उत्रिएका थिए । आन्दोलनले पार्टीको आकार र कुनै व्यक्ति नेताको रूपमा स्थापित नभएपछि उक्त स्पेस पुराना दलका पाका नेताहरूले बिस्तारै ओगट्न थालेका छन् । उल्टै जेनजीको नाममा लुटपाट, हिंसा, आगजनी र हत्या भएको भन्दै कारबाही गर्ने पाका नेताहरूले घुमाउरो भाषामा धम्की दिन थालेका छन् ।
वर्षौंसम्म राज गरेर बसेका पुराना नेताहरू नेतृत्व छाड्नेभन्दा रिङ्गाटा चल्ने गरी उत्रिएका छन् । राज्यले ७० वर्ष पुगेपछि हरेक नागरिकलाई शारीरिक, मानसिक, स्वास्थ्यका दृष्टिले केही गर्न सक्दैन भनेर मासिक भत्ता उपलब्ध गराउँदै आएको छ । तर, पुराना नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका शीर्ष र पाका नेताहरू नेतृत्व छाड्न कुनै भावभङ्गी देखाएका छैनन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा शुभकामना दिँदै आफ्नो घरमा त्यति धेरै पैसा नभएको प्रष्टीकरण दिए । जेलेको पैसालाई जोडेर आफ्नो बदना गरिएको भन्दै उल्टै आपत्ति जनाए । यसले पनि देउवाले तत्काल नेतृत्व छोड्ने कुनै संकेत देखिँदैन ।
पार्टी विधानदेखि आफ्नो गुटलाई आफू अनुकूल परिचालन गरेरै भए पनि एक दिन ढिला भए पनि नेतृत्वमा बस्ने उत्कट चाहना देउवाको देखिन्छ । पार्टीको महाधिवेशन गर्न ठिक्क बेला भए पनि नेतृत्व छोड्न कुनै तयारी गरेका छैनन् । बरु उल्टै महाधिवेशन एक वर्ष पर धकेलेर भए पनि नेतृत्वमा बस्ने इच्छा देउवाले देखाएको नेताहरू बताउँछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली बल्ल ११ दिनपछि सेनाको घेराबाट बचेर पार्टी नेताको घर भक्तपुर गुण्डुमा डेरा सरेका छन् । पार्टीले आयोजना गरेको संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा आएर मुखै देखाउन नसक्ने भएपछि अनुपस्थित भए । पार्टीको विधान फेरेर ७० वर्ष उमेहद हटाएर तेस्रो कार्यकाल अध्यक्ष हुन खोजेका थिए । जेनजी आन्दोलन यति प्रेसर गर्दा पनि उमेरले ७४ वर्ष पुगे पनि जीर्ण शरीर लिएर नेतृत्वमा बस्ने दाउँमा छन् । जेनजी आन्दोलन बिस्तारै मत्थर भएपछि महाधिवेशनबाट तेस्रो पटक नेतृत्वमा पुग्न सकिन्छ कि भन्ने दाउमा उनी लाग्ने अनुमान गरिएको छ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टीका पहिला बुढापाका भेटिए हतार हतार मञ्चमा आसन ग्रह गर्न पुग्ने गरेको बताए । अहिले त्यसै गरी, आसन ग्रहण गराउनका लागि युवा भेटिदैनन यो जेनजी पुस्ताको असर परेको अनुभव सेयर गरेका छन् । हरेक पुराना पार्टीमा युवाको खडेरी हुँदा समेत पुरानाले नेतृत्व छोड्ने कुनै अवस्था सृजना गरेका छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ४४ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । उल्टै शुक्रवार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा जेनजीले उठाएको माग माओवादीले उहिलै उठाएको भन्दै जेनजीबाट सन्तोना लिने प्रयास गरे । पार्टी नेतृत्व छोड्ने भन्दा नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा लगायत दललाई समेटेर चुनावमा जाने दाउँमा प्रचण्ड पुगेका छन् । नेतृत्व हस्तान्तरण गर्ने सवालमा कम्युनिस्ट जति अनुदार अरू कुनै विचारधाराका देखिएका छैनन् ।
मोहन वैद्य उमेरले ८० वर्ष पुग्न लाग्दा समेत क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव भएर नेतृत्व हाकी रहेका छन् । स्वास्थ्यले साथ दिन छोडेपछि प्राय पार्टी काममा सक्रिय हुन छोडे पनि नेतृत्व युवालाई छोड्नुपर्छ भन्ने वैद्यलाई लागेकै छैन । नेतृत्व छोड्ने सवालमा वैद्य पनि अनुदारै देखिएका छन् ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आजीवन पार्टी नेतृत्वमा छन् । उनीहरूको नेतृत्वको सवालमा हिसाबकिताब गरेर पनि साध्यै छैनन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा मालेका महासचिव सिपी मैनाली, पछिल्लो समय नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव समेत नेतृत्व हस्तान्तरणमा त्यहीँ अवस्थामा छ । नेतृत्व हस्तान्तरणको बहस चल्न थालेपछि कम्युनिस्टले देशी विदेशी शक्तिको षड्यन्त्रलाई देखाएर आलोचना गर्नेलाई पार्टीबाटै निकाल्ने गरेका छन् । संसददेखि संसदसम्म मात्रै राजनीति गरेर सांसद र मन्त्रीको सपना देख्ने कम्युनिस्ट पार्टीका नेता नेतृत्व छोड्ने बहस छेड्न थालेपछि रिङ्गाटा चल्ने गरेको छ ।