महोत्तरी । सडक दुर्घटनामा हुने मानवीय क्षतिको संख्या बर्सेनि बढ्दै छ । आर्थिक वर्ष २०८०/८१ का बितेका छ महिनामा मधेसमा सडक दुर्घटनामा परी २५५ ले ज्यान गुमाएका थिए ।
सो अवधिमा भएका साना तथा ठूला चार हजार ४७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोही अवधिमा सडक दुर्घटनामा परी महोत्तरीका ३१ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न स्थानमा भएका २६५ वटा सडक दुर्घटनामा अंगभंग भई घाइते हुने ३२५ पुगेकामा ८४ जना सख्त घाइते भई अझै सकसपूर्ण अवस्थामा रहेका महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले बताए ।
सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा बढी जसो ३० वर्ष मुनिका युवा रहेका र तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेका उनको भनाइ थियो । सवारी साधन चलाउने दक्षता र सोसम्बन्धी अनुमति पत्र बेगर नै मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ ।
विशेष गरी युवा उमेरका मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेर द्रुतगतिमा सवारी साधन चलाउँदा दुर्घटना बढी भएका देखिएको प्रमुख भट्टराईको भनाइ थियो ।
“हामीले निरन्तर जाँच गर्ने, कारबाही गरी जरिवाना तिराउने र अन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ,” उनले भने, “तर दुर्घटना न्यूनीकरण भएका छैनन् ।”
जाडो याममा बाटो नदेखिने गरी लाग्ने बाक्लो हुस्सु पनि दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरीको भनाइ थियो । महोत्तरीमा बितेका छ महिनामा कूल २३ हजार ३४८ सवारी साधन कारबाहीमा परेकामा सबैभन्दा बढी १२ हजार ५२८ मोटरसाइकल परेका थिए ।
यसैगरी चार हजार ८२८ कार तथा जिप र चार हजार ९८ ट्रक कारबाहीमा परेकामा तिनबाट एक करोड ९१ लाख, ९६ हजार पाँच सय जरिवाना असुल गरिएको थियो ।