काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि नयाँ संविधान जारी भएसँगै सबै सरकार संविधानको धारा ७६ अनुसार गठन हुँदै आएका थिए । तर, युवा (जेनजी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा ६१ अनुसारको नियुक्ति पाएकी हुन् ।
नेपालको संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धि व्यवस्था छ । यसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।
संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
यसैगरी, राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने छ भने संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ ।
राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धाराअनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।