काठमाडौँ । सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो मौलिक गायन र लोक–पारिवारिक संस्कारको प्रतिबिम्ब प्रस्तुत गर्दै, नेपाली ‘रियालिटी शो’ इतिहासमा नयाँ अध्याय थपेकी छिन् । नेपाल आइडल सिजन ६ को उपाधी हात पारेर उनले इतिहास रचना गरेकी हुन् ।
गंगाले हृदय स्पर्सी गायकीबाट दर्शक र निर्णायकको मन जितेर नेपाल आइडल सिजन ६ को ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेताको उपाधि हासिल गरेकी थिइन् ।
गंगा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरेस्थित बुवा ध्रुव सोनाम र आमा सीता सोनामकी कान्छी छोरी हुन्। गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी छन्।
बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्ने गंगा विद्यालयका साङ्गीतिक कार्यक्रममा सक्रिय थिइन्। उनका दाइ दीपेन्द्र सोनम पनि लामो समयदेखि सङ्गीत क्षेत्रमा आबद्ध छन्।
विजेता घोषणासँगै गंगाले २५ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पारेकी छिन् । उनलाई संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार र ट्रफी हस्तान्तरण गरेका थिए ।