काठमाडौं । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबि साहको हत्या आरोपमा लक्षित व्यक्ति लक्ष्मण पासवान जलेको अवस्थामा फेला परे । पासवान रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरबाट पश्चिमतर्फको बगैँचा हुँदै बिसुनपुरवा मानपुर जाने बाटोमा गम्भिर रूपमा जलेको अवस्थामा भेटिएका हुन् । स्थानीयबासीले खबर गरेसँगै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको छ ।
हत्या आरोपमा पक्राउ परेका पासवानले आफ्ना हातमा ‘माइ हर्ट रुबि कुमारी’ लेखिएको ट्याटु देखिएको छ । यस्तै, छातीमा समेत रुबिको फोटोसहितको ट्याटु बनाएको पाइएको छ ।
गत शनिबार रुबिको हत्या गरी सुटकेसमा राखेर फालेको अवस्थामा शव फेला परेको थियो । घटना भएको चार दिनसम्म प्रहरीले आरोपको खोजी गरिरहेको थियो ।
प्रहरीका अनुसार पासवान रुबिको हत्यामा संलग्न रहेको आशंकामा पहिलेदेखि निगरानीमा थिए । यसैबीच आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतीय युवकसँग विवाह गरेका रुबि आफ्नो चार वर्षीय छोरा पढाउन भन्दै माइतनजिक डेरा गरी बस्दै आएकी थिइन् । २५ वर्षीय उनको शव भारतको सीमा नजिक सुटकेसमा फेला परेको थियो ।
रौतहटको सुटकेस काण्ड : हत्या आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला