काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशभर साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका धेरै स्थान तथा लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।