काठमाडौं ।संघीय लोकतान्त्रिक मोर्चाले गौर घटनाको एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले अनुसन्धान गरिए सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ । बुधबार थापागाउँस्थित जनता प्रगतिशील पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले तथ्यगत विषयवस्तुमा आधारित रहेर निष्पक्ष, तटस्थ, वास्तविकतामा आधारित अनुसन्धानको पक्षमा रहेको स्पष्ट पारेको छ ।
एकपक्षीय र पूर्वाग्रहले प्रेरित भई तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्तिकेन्द्रित दुष्प्रचार चलाउने खेलहरू भइरहेको भन्दै मोर्चाले त्यसले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्टसँग छर्लंग भएको निष्कर्ष निकालेको छ ।
‘०६३ चैत ७ गते रौतहटको गौरमा राजनीतिक विवाद र त्यसपछि भएको भिडन्तका कारण घटित दुस्खद घटनाको छानबिनको सम्बन्धमा ०८२ भदौ २ गते सर्वोच्च अदालतबाट भएको परमादेशबारे संघीय लोकतान्त्रिक मोर्चाको ध्यानाकर्षण भएको छ । परमादेशको पूर्णपाठ प्राप्त भइनसकेको भए पनि यदि भनिएजस्तो छानबिन वा अनुसन्धान सफा नियत, तटस्थता, कानुनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबिन र अनुसन्धानप्रति कसैको आपत्ति हुने कुरै भएन । तर, जसरी एकपक्षीय र पूर्वाग्रहले प्रेरित भई एकपक्षीय रूपमा तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्तिकेन्द्रित दुष्प्रचार चलाउने खेलहरू भइरहेका छन्, त्यसले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्टसँग छर्लंग भएको छ,’ मोर्चाले भनेको छ ।
बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव, रामकुमार शर्मा र मनीष सुमन, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, रामनरेश राय, लोसपाबाट अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, ज्ञानेन्द्र झा, नागरिक उन्मुक्ति पार्टीबाट रेशमलाल चौधरी, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठीलगायत थिए ।