0
Shares
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका ८ निवासी १२१ वर्षीय बाटुली लामिछानेको निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको आफन्त उद्धव हुमागाईंले जानकारी दिए । उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
ककनी गाउँपालिका र उनको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउण्डेसनले घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।
बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिए ।
नेपाली नागरिकताको प्रमाण पत्रअनुसार बाटुली लामिछानेको जन्म विं.सं. १९५९ चैत १० गते भएको हो । उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउण्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।