काठमाडौं । आजभन्दा एक दशकअगाडि अर्थात् विं.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकसहित ९ जनाको ज्यान गयो । उक्त रहस्यमय घटनाको योजनाकार रेशम चौधरी भएको भन्दै जिल्ला, उच्च र सर्वोच्च अदालतले चौधरीलाई जन्म कैद सजाय तोक्यो ।
चौधरी उक्त घटनाका दोषी हुन् वा होइनन् त्यो रहस्यको गर्भमा छ । उक्त घटनाबारे सत्य तथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा समिति बनाए पनि प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ।
रेशम जेलमै हुँदा आलोचना बढी हुन थालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले २०७९ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सजाय माफी पाएर छुटेका थिए । उक्त निर्णयको व्यापक आलोचना भयो । जन्मकैद सजाए पाएको अवस्थामा उनलाई माफी दिँदा आलोचना भएपछि राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन अवस्थामा छ । कुनै तथ्य र प्रमणविना थारुहरूमाथि अपहेलना गरेर हत्याको भारी बोकाएको भन्दै रेशमको पक्षमा सबै थारु समुदाय एक जुट भएका थिए ।
आममाफी पाउनुअघि रेशमले २०७८ पुस १९ गते निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) नाममा दल दर्ता गराएका थिए । रेशम दोषी भएर नभएको विषयमा चर्चाबिच पार्टी गठन भएको एक वर्षमै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार सांसद जिताउन सफल भए ।
नाउपाले सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ३ र मधेस प्रदेशमा १ प्रदेशसभा सदस्य जितेको छ । स्थानीय तहतर्फ कैलालीमा ४ पालिका प्रमुख नाउपाबाट निर्वाचित भएका छन् । यो पार्टीलाई थारु मात्रै अरू उत्पीडित समुदायले भोट दिएर साथ दिएका थिए । पार्टी संरक्षक भएका रेशम र श्रीमती रञ्जिता श्रेष्ठबीच पार्टी संसदमा पुगेर लाभको पद पाउन थाल्यो त्यसपछि झगडाको बिउँ रोपिन थाल्यो ।
२०७९ पुसमा नाउपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भयो । अध्यक्ष श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनिन् । मन्त्री बनेकी उनले झन्डै एक वर्ष श्रेष्ठले आरामदायी ढंगले पार्टी चलाइन् ।
यसैबिच रेशम चौधरी पार्टी गतिविधिमा सक्रिय भए । उनलाई भेट्नेहरूले पार्टीको नेतृत्व लिन सुझाव दिए । तर, निर्वाचन आयोगले २०८० फागुन २४ गते रेशमलाई अध्यक्षको मान्यता दिन अस्वीकार गर्दै महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठायो । चौधरी नाउपाको अध्यक्ष बन्नु राजनीतिक दलसम्बन्धी ऐन र उक्त पार्टीको विधान विपरीत भएको आयोगको ठहर छ ।
यता, चौधरीकी श्रीमती श्रेष्ठलाई आफ्नो पद हत्याउन श्रीमान् लागिपरेको भान हुन थाल्यो । यसपछि श्रीमान्-श्रीमतीबिच पार्टीलाई लिएर भएको झगडा सतहमा देखिन थाल्यो । सुरुमा रेशम र रञ्जिताबीच झगडालाई सामान्य रूपमा लिएको थियो । घरकै श्रीमान्-श्रीमती देखाउनलाई झगडा गरेको धेरैलाई भान परेको थियो ।
जब झगडा पार्टीभित्रबाट बाहिर सतहमा आउन थालेपछि सबै विवाद छताछुल्ल भएको हो । अहिले नाउपाको झगडाले अरू पार्टीका नेता कार्यकर्ता सर्वसाधारणसमेत दिक्क हुन थालेका छन् ।
रेशमलाई प्रतिष्ठाको विषय भएपछि श्रीमती रञ्जितालाई हटाएर आफ्ना बाबु लालवीर चौधरीलाई अघि सारे । गत साउन १५ गते नाउपाको अध्यक्षमा लालवीर चयन गर्दै श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय भयो । नाउपाको काठमाडौंमा बसेको भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णयविरुद्ध श्रेष्ठ निर्वाचन आयोग पुगेपछि बुधवार पुन: अध्यक्षमा निर्वाचित हुन सफल भइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा श्रेष्ठ पुन: अध्यक्षमा पुनर्बहाली भएकी छन् । अध्यक्षमा पुनर्बहाली भएपछि श्रेष्ठले पार्टी सङ्गठनलाई विधिको बाटोमा अघि हिँडाउने अवसर भएको प्रतिक्रिया दिएकी छन् । पार्टी नेतृत्वबाट हटाउन रेशमले अनेक जुक्ति लगाउँदा पनि सफल भएका छैनन् । सुरुमा आफै पार्टी नेतृत्व गर्न खोज्दा निर्वाचन आयोग बाधक बन्यो । पार्टीको भेलाले सर्वसम्मत रूपमा अध्यक्षमा लालवीर बनाउन निर्णय उल्टिएको छ ।
रेशमलाई आफ्नै श्रीमती भारी भएपछि बिलखबन्दमा परेका छन् । जुन मुद्दा र एजेन्डामा स्थापित भएको पार्टी थियो । त्यो श्रीमान्-श्रीमतीबिच झगडामा अल्झिएपछि नेता कार्यकर्ता र शुभेच्छुकसमेत पछुताउन थालेका छन् । यो झण्डाको विवाद साम्य नहुँदा रञ्जिताबाट पार्टी चल्ने अवस्था छैन ।
रेशमका कारण स्थापित भएको पार्टी उनी पाखा हुँदा झन् कमजोर हुने देखिएको छ । उता यो झगडाले रेशमको भएको साखसमेत गिर्दै गएको नेता कार्यकर्ता बताउने गरेका छन् ।