काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक गरेका १२ वाणिज्य बैंकहरूले कुल ४४ अर्ब २ करोड ९६ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। अधिकांश बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएको छ भने खराब कर्जाको अनुपातमा पनि सुधार आएको छ ।
हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
कुन बैंकले कति कमायो नाफा ?
नबिल बैंक: सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बनेको छ। बैंकले गत वर्ष ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो। आव २०८०/८१ मा नबिल बैंकको वितरण योग्य नाफा जम्मा ३ अर्ब ८ करोड रुपैयाँ मात्रै थियो ।
एभरेष्ट बैंक : बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ३२.८० प्रतिशतले बढी हो। बैंकले खराब कर्जा ०.३८ प्रतिशतमा झार्न सफल भएको छ।
कृषि विकास बैंक : बैंकले ४ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ। यसको नाफा ४३.३८ प्रतिशतले बढेको छ भने खराब कर्जा पनि ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा आएको छ।
सिद्धार्थ बैंक : बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो ।
एनएमबि बैंक : बैंकको नाफा ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
कुमारी बैंक: अघिल्लो वर्ष ४६ लाख रुपैयाँ मात्र नाफा कमाएको कुमारी बैंकले यस वर्ष २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरी ठूलो सुधार देखाएको छ ।
माछापुच्छ्रे बैंक : बैंकको खुद नाफा ९२.४४ प्रतिशतले बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
सानिमा बैंकः बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
सिटिजन्स बैंकः सिटिजन्स बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ ।
हिमालयन बैंकः हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ ।
ग्लोबल आइएमई बैंकः बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १.१० प्रतिशतले बढेर ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
प्रभु बैंकः बैंकको ९६५ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले ५१ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो ।