गुटैगुटले झाँगिएको कांग्रेस नेतृत्वमा पुग्न हानथाप, कहिले होला महाधिवेशन?

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको विधान बमोजिम १५ औँ महाधिवेसन २०८२ साल मंसिरभित्र पूरा गरी सक्नुपर्ने व्यवस्था छ । पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएको आगामी मंसिरमा चार वर्ष पुग्दै छ । कांग्रेसमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था भएकाले देउवाले आफू पार्टीबाट स्वेच्छिक अवकाशमा जाने स्वीकार गरिसकेका छन् ।

पार्टी महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापति देउवाले त्यसका लागि कुनै तयार वा कुनै निर्णय गरेका छैन । विधान बमोजिम एक वर्ष थप्न पाउने व्यवस्था भएकाले २०८३ सालको मंसिरमा महाधिवेसन हुने नेताहरुले आंकलन गर्न थालेका छन् ।

पार्टीकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, वरिष्ठ नेता शेखर कोइरालालगायत संस्थापन इतर समूहका नेताहरु महाधिवेशन समयमा हुनुपर्ने अडानमा छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकमा थापाले महाधिवेशन २०८२ सालभित्रै हुनुपर्ने प्रस्ताव गरेका थिए ।

सभापति देउवा तत्काल महाधिवेशन गरेर नेतृत्व छाड्ने पक्षमा छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन अर्थात ठ्याक्कै एक वर्षपछि देउवालाई किस्तीमा प्रधानमन्त्री पद छाड्ने घोषणा गर्दै आएका छन् । ओलीले देउवालाई प्रधानमन्त्री पद छाड्ने बताउँदै गर्दा नेकपा माओवादी केन्द्रले तत्काल एमालेसँगको गठबन्धन छाड्न गरेको प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।

देउवाले आफू पार्टी सभापति नहुँदा संसदीय दलका नेताको पद गुम्ने र प्रधानमन्त्री बन्ने बाटो बन्द हुने विश्लेष्ण छ । यस्तो अवस्थामा देउवा आफ्नो कार्यकाल एक वर्ष लम्बिएर सरकारको नेतृत्व गर्ने मुडमा पुगेको उनी निकट नेताहरु बताउँछन् ।

तर, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी महाधिवेशन प्रायः पाँच वर्षमा हुँदै आएकाले यो वर्ष महाधिवेशन नहुने निश्चित भएको बताए । ‘पार्टी विधान बमोजिम चार वर्षमा महाधिवेशन हुनुपर्ने हो, प्रायः महाधिवेशन एक वर्ष थप गरेर हुँदै आएको छ, यो वर्षको आधा जसो समय गइसकेको छ,’ उनले भने, ‘अब आगामी २०८३ साल मंसिरमा महाधिवेशन हुन्छ, त्यसको मिति मात्रै तोक्न बाँकी छ, पार्टीले आधिकारिक रुपमा निर्णय गर्छ ।’

पार्टीको क्रियाशिल सदस्य संगठनलगायत विविध कारणले यो वर्ष महाधिवेशन गर्न नसकिने अवस्थामा पुगको विश्वकर्माले बताए । पार्टी विधानलाई मिचेर महाधिवेशन लम्ब्याउने सोचमा सभापति नपुगेको उनले दाबी गरे ।

गुटैगुटले झागिएको कांग्रेस नेतृत्वमा पुग्न हानथाप

विश्वश्वर कोइरालाको अनुयाई कांग्रेसको अर्को रुप गुटैगुटको घर भएको नेता कार्यकर्ता बताउँछन् । नेतृत्वमा पुग्न एकले अर्कोलाई स्वीकार गर्न सक्ने अवस्था छैन् । सभापति देउवालले आफ्नो उत्तराधिकारी अहिलेसम्म कसैलाई विश्वास गरेका छैनन् ।

अन्तिममा देउवाले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई अन्तिममा उत्तराधिकार बनाउने धेरै नेता कार्यकर्ताले विश्लेषण गर्न थालेका छन् । पार्टीमा विवादित हुँदाहुँदै देउवाले आरजुलाई परराष्ट्र मन्त्री बनाएर सरकारमा पठाएर शक्तिशाली बनाएर नेतृत्वमा स्थापित गर्न खोजेको कांग्रेस नेता कार्यकर्ताले आंकलन गरेका छन् ।

जसका कारण आफ्नो गुटबाट देउवाले कसैलाई अघि सारेका छैनन् । जसका कारण उपभापति पूर्णबहादुर खड्का, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधीलगायत नेताहरु देउवाबाट टाढिँदै गएका छन् । अन्तिम अवस्थामा देउवा आफ्नो गुटबाट नेतृत्वमा कसलाई अघि सार्छन, त्यसपछि मात्रै कुन नेता कुन कित्तामा उभिन्छन् टुंगो लाग्ने छ ।

कांग्रेसको अर्को शक्तिशाली गुटको नेतृत्व गगन थापाले गर्दै आएका छन् । आगामी महाधिवेशनमा नेतृत्वमा पुग्ने महत्वकांक्षाका साथ युवा नेताहरुको प्रतिनिधित्व गर्दै देश दौडमा निस्किएका छन् ।

कोइराला गुटको नेतृत्व शेखर कोइरालाले गर्दै आएका छन् । कोइराला गुटका शशांका कोइराला, सुजाता कोइरालालगायत नेताहरु एक ठाउँमा आउन सकेका छैन । शेखरको नेतृत्व कोइराला गुटले नपत्याउँदा एक ठाउँमा आउन सकेका छैनन् ।

यदि, कोइराला गुट एक ढिक्का भएमा शक्तिशाली हुनुका साथै नेतृत्वमा पुग्ने सम्भावना बलियो हुने अवस्था बन्ने थियो । कांग्रेस महाधिवेशन अझै एक वर्ष धकेलिने सम्भावना बलियो हुँदै गएपछि गुटहरु बन्ने र भत्किने शृङ्खला धेरै चल्ने भएकाले १५ महाधिवेशनबाट नेतृत्वमा को पुग्छ? भन्ने सजिलै आंकलन गर्ने अवस्था बन्न सकेको छैन ।

सम्बन्धित समाचार