प्रभु बैंकको खुद नाफा साढे ५ अर्ब, प्रतिसेयर आम्दानी कति?

0 Shares

काठमाडौं । अघिल्लो वर्ष आर्थिक वर्षको तुलनामा प्रभु बैंकको नाफा गत आर्थिक वर्षमा खुद नाफा उल्लेख्य बढेको छ ।

बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आवमा ९६५.४१ प्रतिशतले बढेको हो ।

बैंकले गत आर्थिक वर्ष अन्त्यसम्म पाँच अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र छ ।

सोही कारण नाफा वृद्धि दर उल्लेख्य देखिएको हो । गत वर्षको विवरणअनुसार २०८१ असारसम्म बैंकको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ थियो । बैंकले इम्पेरमेन्ट चार्जमा हेरफेर गरेका कारण खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।

गत वर्ष २०८१ असार मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो । हाल प्रकाशित विवरणअनुसार सोही अवधिसम्म बैंकको यस्तो चार्ज चार अर्ब ७१ करोड रहेको छ ।

विवरणअनुसार २०८२ असारसम्म बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १२ पैसा, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ । बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४ करोड रुपैयाँ छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रभु बैंकको यो उपलब्धिले नेपालको बैंकिङ क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा आफ्नो बलियो उपस्थिति पुनः स्थापित गरेको छ । व्यवस्थापन टोलीले आगामी वर्षमा पनि स्थिर वृद्धि कायम रहने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार