रुसी सेनामा भएका नेपालीलाई फर्काउन परिवारको आग्रह

0 Shares

काठमाडौं । रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारलाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् ।

कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरिन् ।

उदयपुरका स्थायी बासिन्दा उनी नेपाली सेनाबाट अवकाश भएपछि नौ लाख खर्चेर रुस गएको परिवारले जनाएको छ ।

केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गरे ।

उनले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र हाल सम्पर्कमा नरहेकामा चिन्ता व्यक्त गरे ।

त्यस्तै, भक्तपुरकी चाँदनी विष्टले आफ्ना पति विभाजन, देवर निराजन र नाति लोकेन्द्र सम्पर्कमा भए पनि स्वदेश फिर्ता गराइदिन माग गरिन् ।

रुसी सेनामा भर्ती भएर नेपाल आएका सुमन राईले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार