काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकताको च्याप्टर क्लोज भएको छ । माओवादीको साउन १६ गतेदेखि १९ गतेसम्म चार दिन बसेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो ।
माओवादीले विप्लवसँग एकताको प्रस्ताव राखे लगत्तै विप्लवले साउन २० गते स्थायी समिति बैठक राखेर तत्काल एकता नगर्ने निर्णय गराएका थिए । विप्लवले गत वर्षको साउनमै माओवादीसँग एकता गर्ने केन्द्रीय समिति बैठकबाटै निर्णय गराएका थिए । उक्त प्रस्तावलाई माओवादीले बैठकमा एजेन्डा नै बनाएर कुनै कमिटीमा छलफल नगरेपछि एकताको विषय सेलाएको थियो । त्यसपछि विप्लवले आफ्नै पार्टीलाई बलियो बनाएर जाने नीति लिएका थिए । जसका कारण पार्टीलाई कडा अनुशासनमा राख्दै उत्पादनमा जोडेका छन् । जसको चौतर्फी तारिफ समेत भई रहेको छ ।
उता माओवादीमा अध्यक्ष प्रचण्डलाई पार्टी उपमहासचिव जनार्दन शर्माले आलोचना गर्दै प्रश्न गर्न थालेपछि अप्ठ्यारो महसुस गरेपछि एकताको कार्ड फालेको विप्लव नेतृत्वको नेकपाको बुझाई छ । पार्टी एकता गरेपछि महाधिवेशनपछि पुन नेतृत्वमा दोहरिन सहज हुने प्रचण्डको योजना छ । प्रचण्डको प्रस्तावलाई विप्लवले एकता गर्न नभएर आफूलाई अप्ठ्यारो पर्दा एकताको विषय उठाएको निष्कर्ष निकालेर तत्काल एकता नगर्ने निष्कर्षमा पुगेको हुन सक्ने नेताहरू बताउँछन् ।
माओवादीले राखेको एकताको प्रस्ताव विप्लवले अस्वीकार गरेपछि एकताको च्याप्टर क्लोज भएको नेताहरू बताउँछन् । विप्लवसँग भने प्रचण्डले अप्ठ्यारो पर्दा एकता सजिलो हुँदा चुपचाप हुन थालेपछि उनले पनि उक्त विषयलाई गम्भीर रूपमा नलिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । तर, विप्लव नेतृत्वको नेकपा स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीले एकता गर्न माओवादी गम्भीर भएमा एजण्डा नै बनाएर केन्द्रीय समितिमा छलफल गर्न सकिने बताए । बलियो कम्युनिस्ट केन्द्र बनाउने आफूहरूको समेत चाहना भएकाले विचार मिल्नेसँग एकता गर्न कुनै समस्या नहुने उनको जिकिर गरे । एकता गर्न चोहमा ठोस एजेन्डा बनाएर तार्किक निष्कर्षमा पुग्नुपर्ने उनको भनाई छ ।
प्रचण्डले एकता गर्न नेकपा एकीकृत समाजवादी समाजवादीलाई औपचारिक अनौपचारिक बैठकमा प्रस्ताव गरी सकेका छन् । तर, एकीकृत समाजवादीले समाजवादी मोर्चा मार्फत सहकार्य गर्दै जाँदा राम्रो भएमा एकता गर्ने नीति लिएको छ । महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादीले भने माओवादीको महाधिवेशनसम्म एकता गर्ने निर्णय गरी सकेको छ ।
वार्ता टोली बनाएर अल्झाउने प्रचण्डको नीति
विप्लव नेतृत्वको नेकपाले साउन २०८१ मै माओवादीसँग एकता गर्ने निर्णय लिएको थियो । त्यति बेला नेकपाले सैद्धान्तिक रूपमा मत मिल्ने दलसँग एकता गर्ने निर्णय गरेको थियो । त्यसै बेलादेखि नै हो विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबिच एकताको प्रयास भएको थियो । उपाध्यक्ष कृष्णबहादुर महराले मध्यस्थताको भूमिका निर्वाह गरिरहेका थिए । र, त्यस बेला नेकपा र माओवादी केन्द्रले भनेका थिए– ‘तत्काल सहकार्य, भविष्यमा एकता ।
त्यति बेला प्रचण्डको चाहना विप्लवलाई ल्याउनेभन्दा पनि टाढा जान नदिने रणनीतिसँग जोडिएको थियो । हुन त, त्यो भन्दाअघि पनि प्रचण्ड र विप्लवबिच एकता छलफल भइरहेका थिए । ती सबै छलफलमा उपाध्यक्ष कृष्णबहादुर महराले दूतको भूमिका निर्वाह गरिरहेका थिए । यद्यपि, माओवादी केन्द्रसँग नेकपाको एकता रोक्ने भूमिका भने विगत लामो समयदेखि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको हुन सक्ने विप्लव नेकपाका नेताहरुको बुझाई थियो । महराकै प्रयासमा विप्लवलाई माओवादीमा ल्याउन खोजेको र प्रचण्डले महासचिव बनाउने अनौपचारिक सहमति पनि जुटेको बताइएको थियो ।
उक्त सहमति लामो समय टिक्न नपाउँदै पुन र शर्माले प्रचण्डमाथि दबाब बढाउन थालेका थिए । त्यही दबाबका कारण महरा पनि ब्याक भए । माओवादी केन्द्रको महाधिवेशनअघि नै विप्लवलाई ल्याउन भन्दै माओवादी नेताहरू सक्रिय भएका थिए । महाधिवेशनबाट महासचिव बनाउने माओवादी नेताहरूको तर्क थियो । त्यति बेला भाँडिएको एकता प्रयास त्यसपछि पनि पटक पटक भयो । प्रचण्ड प्रधानमन्त्री भएको बेलामा पनि एकता प्रयास भएको थियो । ती सबै प्रयास असफल भएका थिए ।
केही समय अघि प्रचण्ड अप्ठ्यारोमा परेपछि महारालाई आफ्नै निवास खुमलटार बनाएर विप्लवसँग एकता गर्न छलफल गर्न निर्देशन दिएका थिए । महराले आफ्नो तर्फबाट विप्लवसँग एकता गर्न छलफल समेत अघि बढाएका थिए । विप्लव महराको विद्यार्थी समेत भएकाले गुरु चेलाको सम्बन्धका कारण एकता गर्न सहज हुने प्रचण्डको बुझाई थियो । प्रचण्ड नीति नजिकबाट बुझेका विप्लवले सबै चाल पाएपछि तत्काल एकता नगर्ने निर्णय गराएका हुन् । प्रचण्ड विप्लव दुबैको आवश्यकतामा एकता भएमा सार्थकता पाउने नेताहरु बताउँछन् ।