अटोमोबाइल क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : नाइमा अध्यक्ष वैद्य

0 Shares

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले मुलुकको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिने अटोमोबाइल क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् ।

बुधबारबाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै करिब ४।७ प्रतिशत रोजगारी सिर्जना गरेको उल्लेख गरिन्। उनले स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्ता अन्य महत्त्वपूर्ण क्षेत्रसरह नै यसले हजारौँ नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको बताइन् ।

अध्यक्ष वैद्यका अनुसार, विशेषगरी विद्युतीय सवारीसाधनको आगमनले गर्दा चार्जिङ पूर्वाधार निर्माण, प्राविधिक तालिम र नयाँ प्रविधिको विकासमा थप रोजगारीका अवसरहरू सिर्जना भएका छन्। उनले नाइमाले सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्य गरी सीप विकासमा लगानी गरिरहेको र युवाहरूलाई रोजगारीयोग्य बनाउन सक्रिय भूमिका खेलिरहेको पनि जानकारी दिइन् ।

उनले भनिन्, “यस्ता पहलहरूलाई दीर्घकालीन रूपमा सफल बनाउन सरकारले स्थिर र स्पष्ट नीति ल्याउनु आवश्यक छ। सरकारको स्थिर नीतिले उद्योगलाई दीर्घकालीन लगानी र नवप्रवर्तनका लागि प्रेरित गर्छ ।”

नाइमाले अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा काम गरिरहेको र भविष्यमा गुणस्तरीय सेवा, जनशक्ति विकास तथा सहरदेखि गाउँसम्म सवारीसाधनको पहुँच पुर्‍याउने दिशामा काम गर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार