बागमती मुख्यमन्त्रीबाट लामाले आज राजीनामा दिने, बानियाँ मुख्यमन्त्री बन्ने

0 Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राजीनामा दिने भएका छन्।

मुख्यमन्त्री लामाले आइतबार नै प्रदेशप्रमुख सक्षम राजीनामा बुझाउने कांग्रेस बागमती प्रदेश संसदीय दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित मुख्यमन्त्री लामा आज पदबाट हट्ने भएका हुन्। संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि दलभित्र र बाहिर दुवैतर्फको दबाबबीच पार्टीका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेका हुन्।

बिहीबार बेलुका सभापति देउवाले आफ्नै निवास बोलाएपछि छलफलका लागि बुढानीलकण्ठ पुगेका मुख्यमन्त्री लामा र अब मुख्यमन्त्री बन्ने बानियाँबीच शनिबार बिहान छलफल भएको थियो। त्यस क्रममा लामाले राखेका २ सर्त मान्न देउवाले बानियाँलाई पनि निर्देशन दिएको र उनी त्यसमा सहमत भएको चित्रकारले जानकारी दिए।

लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र नयाँ सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहकार्य गर्नुपर्ने सर्त राखेका छन्। त्यसमा बानियाँ राजी भएपछि लामा राजीनामा दिन तयार भएको चित्रकारको भनाइ छ।

बिबादका बीच मुख्यमन्त्री लामाले साउन १४ गते प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री पदमा नियुक्ति दिएका छन्। लामाले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलका नव निर्वाचित नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ।

उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुनेछन्।

 

सम्बन्धित समाचार