काठमाडौं । ‘गुण्डा नाइके’को रुपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना काठमाडौँबाट पक्राउ गरेका छन्।
प्रहरीले काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गएराति उनीहरूलाई पक्राउ गरेको हो। गुण्डागर्दीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए।
प्रहरीका अनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय भएर गुण्डा नाइकेहरूलाई पक्राउ गरेका हुन्।
यसअघि प्रहरीले हिजो ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ (सानुभाइ) लाई पक्राउ गरेको थियो। चक्रे मिलनलाई ‘बर्थडे’ पार्टीबाटै पक्राउ गरिएको एसपी आचार्यले बताए। पक्राउपछि उनीहरुलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।
चक्रे मिलनसहितले सामाजिक सञ्जालमा सर्वसाधारणलाई आतंकित बनाउने ढंगका पोस्ट गरेको पाइएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।