काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । जसका कारण गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थान तथा बाँकी तराई भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका पहाडी भाग एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति देशको पहाडी भागमा साधारणतया बदली रही तराई भागमा आंशिक बदली रहने छ । देशका पहाडी भागका थोरै स्थान तथा तराई भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भाग एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।