काठमाडौं । सिन्धुलीको गोलोञ्जर गाउँपालिका ६ छेत्पाबाट बेपत्ता उर्मिला हायूको परिवारका १६ जना अन्ततः पोखरामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगर ३० स्थित दुई वटा घरमा बाँडिएर बसेको अवस्थामा उनीहरू भेटिएका हुन् ।
गत शनिबार पोखरा पुगेका उनीहरू पहिलो दिन लेकसाइडस्थित होटल जननीमा बसेका थिए । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार उनीहरूले तीन वटा कोठा लिएर बसेका थिए ।
अहिले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ । उनीहरू इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले सिन्धुलीको उक्त घरमा आफूहरू बिरामी पर्न थालेपछि नयाँ ठाउँको खोजी गर्दै पोखरा पुगेको बताएका छन् । उनीहरूले अस्पताल जान पनि असहज भएपछि त्यहाँबाट हिँडेको प्रहरीलाई बताएका छन् ।
उनीहरू सिन्धुली फर्कन तयार नभएको प्रहरीले जनाएको छ । आफूहरूलाई सिन्धुलीको उक्त क्षेत्रभन्दा अन्यत्र बस्ने व्यवस्था मिलाइदिन उनीहरूको माग छ ।
उनीहरू पोखराको स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका थिए । उनीहरू आफूहरू ज्यामी काम गर्न आएको भन्दै उनीहरूको घरमा बसेका थिए ।