काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्य पोखरा पुगेको खुलासा भएको छ । उनीहरू गत शनिबार पोखराको होटल जननीमा बास बसेको खुलेको हो ।
होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार होटलबाट चेक आउट भएका थिए । उनीहरूले तीन वटा कोठा लिएर बसेका थिए ।
यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ ।
यसअघि सम्पर्कविहीन भएका हायू परिवारकी माइली छोरीले आफ्नो परिवार खोजिदिन आग्रह गरेकी थिइन् ।
तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजता सम्पर्कमा आएर परिवार खोजिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको हायू परिवारका १६ जना बेपत्ता सदस्यको सूचीमा सुजताको नामसमेत रहेको थियो । तर, उनी सम्पर्कमा आएकी हुन् ।
प्रहरी सम्पर्कमा आएकी सुजताले परिवारका अन्य सदस्यहरूसँग सम्पर्क हुन नसकेको जानकारी दिएकी छन् ।
सुजताले आफ्नो परिवारका सदस्यको खोजी गरिदिन अनुरोध गरेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।