0
Shares
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक पुरुषले श्रीमतीको हत्या गरेको छ भने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार शनिबार मध्यराति करिब १ बजे ४१ वर्षीया रविना ठाडाको हत्या भएको हो। श्रीमतीको हत्या गरेर आफैँले फोन गरी जानकारी गराएपछि ४२ वर्षीय दानसिंह ठाडालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दानसिंहको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’ दानसिंहले फोन गरेर आफ्नो घरको ठेगाना दिएको प्रहरीको भनाइ छ।
दानसिंहले खबर गरेलगत्तै प्रहरी चौकी करेखोलाबाट खटिएको टोलीले आइतबार बिहान २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको हो।
रविनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। पूर्वसैनिक ठाडाले किन श्रीमतीको हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।