ओलीको बचाउँ गर्दै विष्ण पौडेलले भने– विद्या भण्डारी दलको नेता बन्न सुहाउँदैन, सिंगो देशको अभिभावक हुनुपर्छ

0 Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलको सकृय राजनीतिमा आउन नहुने बताएका छन् । बुधबार गृहजिल्ला रुपन्देहीमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘यो विषयमा धेरै चर्चा थियो, पार्टीभित्र र बाहिर पनि धेरै चर्चा भयो । देशकै मुख्य पदमा पुगेको व्यक्ति दलको राजनीतिमा आउन हुन्छ कि हुँदैन रु पार्टीको निचोड हो – उहाँ हामी सबैको अभिभावक हो, पार्टीमा धेरै योगदान दिनुभएको छ, त्यही आधारमा राष्ट्रपति बनाएका हौं । पहिलो र दोस्रो गरी सात वर्ष बिताउनुभयो, त्यहाँ रहँदा राम्रो काम गर्नुभयो । त्यसै आधारमा गणतन्त्रको गौरवका रूपमा सम्मान गरियो ।’

गणतन्त्रको राष्ट्रपति कुनै दलको हुनुहुन्न भन्ने स्पष्ट अवधारणामा पार्टी पुगेको भन्दै पौडेलले थपे, ‘संविधानको रक्षकका हिसाबले अब दलमा जोडिनु उचित हुँदैन, सिंगो देशको अभिभावक हुनुपर्छ भन्ने निचोडमा पुगेका छौं । हिजोको बैठकले पनि त्यो एजेण्डा पास गरेको छ ।’ भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उनको भनाइ थियो ।

‘सदस्यता नवीकरण गर्ने व्यवस्था हाम्रो पार्टीमा छैन । सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ । उहाँको सदस्यता स्थगित होइन, परित्याग हो । जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ,’ पौडेलको भनाइ थियो ।

एमाले कमजोर बनाएर, विग्रह ल्याएर रमाउन खोज्नेहरू विगतदेखि नै साइड लागेको उनको भनाइ छ । ‘एमालेको आन्तरिक जीवन व्यवस्थित बनाउने काम हामी आफैँले गर्नुपर्छ, अरुले सरोकार राख्न जरुरी छैन’, उनले भने ।

केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने भन्दै छिटो सुझाव दिन भनेका छन् ।

सम्बन्धित समाचार