काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन: पार्टी अध्यक्ष बन्न पाउने गरी बिहीबार नेकपा एमालेको सचिवालय बैठकले उमेर हद र कार्यकाल सम्बन्धमा गरेको निर्णयले पार्टीभित्र तरंग छाइरहेका बेला ६ महिनाघि नै निष्कासित नेता भीम रावलले पनि टिप्पणी गरेका छन् ।
बिहीबार दिउँसो पौने २ बजेदेखि राति साढे ११ बजेसम्म बसेको एमाले सचिवालय बैठकले तीव्र वादविवादपछि पार्टी नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने निर्णय गरेको छ । यो निर्णयले आगामी महाधिवेशनमा वर्तमान अध्यक्ष ओली दोहोरिन नपाउने बाधा हटेको छ ।
यो निर्णय गराउन एमाले सचिवालय बैठकमा व्यापक बहस भएको र नेताहरू दुई कित्तामा उभिएको समाचार पनि आइसकेको छ । यद्यपि, यो निर्णय पोलिटब्युरो बैठकले अनुमोदन गर्न बाँकी छ ।
तर यसबीच उमेर हद र कार्यकालको सीमा हटाउने सचिवालयको निर्णयका विषयमा एमाले पदाधिकारी सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध टिप्पणी गरिरहेका छन् । यसै मेलोमा २०८१ पुस १० गते नै पार्टीबाट निकालिएका रावलसमेत मिसिन आइपुगेका हुन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जति भए पनि नअघाएर जसरी पनि सत्ता र पद खान पौराणिक कालकी सुरसाझैँ मुख आँ…गरिरहने झोले अध्यक्ष केपी ओली नै भएको निजका हालैका कामकुराबाट अब त सबैलाई प्रस्ट भयो होला, होइन र ?’
खासगरी अध्यक्ष ओलीकै आलोचना गरेका कारण एमालेको संगठित सदस्यबाट समेत निष्कासित रावलले यसपछि पनि एमाले तथा ओलीका हरेक निर्णयमा टिकाटिप्पणी गर्न छाडेका छैनन् ।
एमालेबाट निकालिएपछि ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेका रावलले यसलाई पनि खासै सक्रिय पार्न सकेका छैनन् ।