काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर लागेपछि वरिष्ठ उपाध्यक्ष पद गायव भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा विधान महधिवेसनमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव ल्याएका हुन् ।
वरिष्ठ उपाध्यक्ष लामो समय ओली निकट हुँदै काम गर्दै आएका थिए । पछिल्लो समय ओलीको कित्ता छाडेर भण्डारीको पक्षमा खुलेर लागेपछि पद हटाउने प्रस्ताव ल्याएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीलाई अध्यक्ष बनाएर आफ्नो पद सुरक्षित गर्ने दाउमा लाग्दा पद नै गुम्ने अवस्था देखिएको एमालेका एक पदाधिकारीले बताए ।
वरिष्ठ उपाध्यक्ष पद हटाएर पार्टीको विधान संशोधन गर्न लागिएको छ। त्यो निर्णय आजको सचिवालय बैठकबाट हुन्छ,’ एमालेको विधान संशोधनबारे भइरहेको छलफलका जानकार ती पदाधिकारी नेताले भने, ‘यो व्यवस्थासहितको विधान आगामी महाधिवेशनपछि लागू हुन्छ।’
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ।
आजको सचिवालय बैठकमा विधानमा हुने संशोधनका विषयमा छलफल हुने एजेण्डा छ। नयाँ संशोधित विधान आजको सचिवालय बैठकले पारित गर्ने तयारी छ।
एमालेले यस्तो निर्णय गरे आगामी महाधिवेशनबाट ईश्वर पोखरेल एमालेको राजनीतिबाट पाखा लाग्नुपर्ने अवस्था सिर्जना हुनेछ।