काठमाडौँ । नेपालमा निस्सन्तान दम्पतीको भावनामाथि खेलबाड गर्दै किशोरीहरूको डिम्बको अवैध कारोबारले डरलाग्दो रूप लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले यो जघन्य धन्दामा किशोरीहरूलाई मुस्किलले १० हजार रुपैयाँ दिएर उनीहरूको डिम्ब झिकिने र त्यही डिम्ब बेचेर ग्राहकबाट २० लाख रुपैयाँसम्म असुलिने गरेको खुलासा गरेको हो ।
सीआईबीका अनुसार, बबरमहलको होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक र महाराजगन्जको एन्जल फर्टिलिटी क्लिनिक यस अवैध धन्दामा मुख्य रूपमा संलग्न पाइएका छन् । यी दुवै क्लिनिकका सञ्चालकहरूले बयानका क्रममा डिम्ब संकलन र बिक्रीको अवैध धन्दाबारे स्वीकार गरेका छन् ।
यी हुन् पक्राउ पर्नेहरू :
यस प्रकरणमा संलग्नताको आरोपमा डा. स्वस्ति शर्मा (४४) र डा. मलिनी चौधरी (४४) लगायत होपकी म्यानेजर अलिसा वली (२४), एन्जलका म्यानेजर सकिल भण्डारी (२८), बिचौलिया जस्टिना प्रधान (२०), सबिना गुरुङ (१९) र होपका चिकित्सक डा. असिम अधिकारी (३५) लाई सीआईबीले पक्राउ गरेको छ ।
सीआईबीका एसएसपी होवीन्द्र बोगटीले भने, “होप र एन्जल फर्टिलिटीले किशोरीहरूको अवैध रूपमा अन्डा लिने रहेछन्। त्यसबापत किशोरीलाई ८ देखि १० हजार रुपैयाँ दिने रहेछन् । तर, अन्डा लिनेबाट भने १८ देखि २० लाख रुपैयाँसम्म असुल्दा रहेछन् ।”
कानुनी छिद्रको फाइदा :
प्रहरीले पक्राउ परेका सबैलाई म्याद थप्न जिल्ला अदालत काठमाडौं लगेको थियो । तर, नेपालमा डिम्ब दानसम्बन्धी स्पष्ट कानुनको अभावका कारण अदालतले सबैलाई हाजिरी जमानीमा छाडिदिएको छ । यद्यपि, सीआईबीले यस गम्भीर प्रकृतिको घटनामा अनुसन्धानलाई निरन्तरता दिएको छ ।
शोषणाको चक्र :
प्रहरीको अनुसन्धानले यो अवैध धन्दाको पीडादायी पाटो उजागर गरेको छ । बिचौलियाहरूले आर्थिक अवस्था कमजोर भएका १६ देखि १९ वर्षका स्वस्थ किशोरीहरूलाई निशाना बनाउँछन् । आर्थिक प्रलोभनमा पारेर उनीहरूलाई डिम्ब दानका लागि राजी गराइन्छ ।
प्रक्रिया अनुसार, किशोरीको महिनावारी गणना गरी महिनावारी सकिएको तेस्रो दिन क्लिनिक लगिन्छ । त्यहाँ उनीहरूलाई “डिम्ब स्वेच्छाले दान गरेको” भन्दै सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइन्छ । त्यसपछि इन्जेक्सनको १० डोज पूरा भएपछि, किशोरीलाई बेहोस बनाई यौनाङ्गबाट औजार घुसाई पाठेघरबाट डिम्ब झिकिन्छ। यो प्रक्रिया अत्यन्तै जोखिमपूर्ण रहेको सीआईबीले जनाएको छ ।
डिम्ब दान दिने नै बिचौलिया :
यो अवैध जालोको अर्को पाटो अझ क्रूर छ । डिम्ब निकालेपछि किशोरीहरूको भूमिका समाप्त हुँदैन । उनीहरूलाई आफूजस्तै अन्य किशोरीहरूलाई खोज्नका लागि प्रेरित गरिन्छ र त्यसबापत निश्चित रकम दिइन्छ । पक्राउ परेका जस्टिना र सबिना पनि पहिला डिम्ब दान दिने अनि पछि आफैँ बिचौलिया बनेर अन्य किशोरीहरूलाई यस धन्दामा धकेल्ने पात्र हुन् । जस्टिनाले ६ जना र सबिनाले ५ जना किशोरीलाई यसरी डिम्ब दान गराइसकेको खुलेको छ ।
प्रहरीका अनुसार, उपत्यकाका अन्य आईभीएफ क्लिनिकहरू पनि यस अवैध डिम्ब कारोबारमा संलग्न छन् र उनीहरूमाथि पनि अनुसन्धान भइरहेको छ । कानुनको अभाव र मानवीय संवेदनशीलताको दुरुपयोग गरी भइरहेको यो शोषणको जालो तोड्न थप कडा कदम चाल्न आवश्यक देखिन्छ ।
१८ वर्ष मुनिका किशोरीको डिम्ब कारोबार गरेको आरोपमा होप फर्टिलिटीका पाँच जना पक्राउ