चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेपछि काँग्रेसभित्र मच्चियो खैलाबैला

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसले तीन वर्षपछि पार्टीका आधिकारिक उम्मेदवारलाई असयोग र अन्तरर्घात गर्नेलाई कारबाही गरेपछि खैलाबैला मच्चिएको छ । पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षले अन्तर्घात गर्ने डेढ दर्जन नेता कार्यकर्तालाई कारबाही गरेपछि वरिष्ठ नेता शेखर कोइरालापक्षले आपत्ति जनाउँदै विरोधमा उत्रिएको हो ।

पार्टी वरिष्ठ नेता कोइरालाले बिहीबार विहान आफ्नै निवास बालुवाटारमा बैठक बोलाएर छलफल गरेको बैठकमा सहभागी गुरु घिमिरेले बताए । पार्टी उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै संस्थापनपक्षले छानिछानी आफूपक्षका नेतालाई कारबाही गरेको भन्दै कोइरालापक्षले आपत्ति जनाएको छ । पार्टीलाई बलियो बनाउने भन्दा उल्टै विपक्ष विचार राख्नेलाई कारबाही गरिएको बैठकमा सहभागी एक नेताले बताए । ‘पार्टी बलियो बनाउन कारबाही गरिएको होइन । गुट सिद्धाउन कारबाही गरिएको छ । यो सरासर प्रतिसोधपूर्ण कार्य हो । यसको हामीले डटेर सामना गर्ने छौं’ बैठकमा सहभागी ति नेताले भने, ‘संस्थापनपक्षले तीन वर्ष अघि भएको अन्तर्घातलाई देखाएर महाधिवेसनबाट सक्ने योजना बनाएको छ । यो पार्टी विरोधी कार्य हो । हामी सहेर बस्दैनौं ।’ अन्तर्घातमा अधिकाशं शेखर कोइरालापक्षका नेताहरु परेपछि त्यसको विरोधमा उत्रिएका हुन् ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले ०७९ को स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहित डेढ दर्जनमाथि अनुशासनको कारबाही गरेको हो ।

अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो–भिडियोलगायत अनेकन् हतकन्डा प्रयोग गरिएका प्रमाणलाई आधार मानेर पार्टी नेता तथा कार्यकर्तालाई निष्कासन/निलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका थिए । कारबाहीमा परेकामा लुम्बिनी प्रदेशका महामन्त्री खनाल, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, खोटाङका सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ । कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको छ । यी सबै कांग्रेसमा संस्थापनइतर समूहका हुन् ।

त्यस्तै, धनुषा लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासन गरिएको छ । धनुषा सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका– १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका– २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलाई निलम्बन गरिएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका– १ का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका– २ का क्षेत्रीय प्रतिनिधि रवीन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका– १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका– ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई ६ महिना निलम्बन गरिएको छ ।

सम्बन्धित समाचार