रसुवा । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड ग्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको बताएको छ ।
नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने गरेकोमा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा भत्किँदा आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको हो । चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरू अझै नेपाल प्रवेश गर्न नसकेका र चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था सृजना हुँदा अझ गम्भीर बनेको नाइमाले औँल्याएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै नाइमाले यस विपद्ले मानवीय क्षति मात्र नभई आर्थिक प्रणालीमा गम्भीर असर पुर्याएको जनाएको छ ।
धेरै परिवारको जीवन, घर, व्यवसाय र आशाहरू एकैचोटि बगाएको भन्दै नाइमाले पीडितहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । घटनाले जनजीवनमा पुऱ्याएको अपूरणीय क्षतिप्रति उसले गहिरो दुःख व्यक्त गरेको छ । यस कठिन घडीमा उनीहरूलाई शक्ति, धैर्य र पुनःस्थापनाको आशा मिलोस् भनी कामनासमेत गरिएको छ ।