जेठी श्रीमतीको हत्या गरी कान्छी ल्याएर घरबार, फरार भएको १७ वर्षपछि पक्राउ

0 Shares

काठमाडौं । श्रीमतीको हत्या गरी फरार भएका पुरुष १७ वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० लाटीकोइलीको सानो सुर्खेत (साविक लाटीकोइली गाविस-५)का रामबहादुर रावत रहेका छन् ।

प्रहरीका अनुसार रावतले विं.सं. २०६३ साल असार ९ गते घरमा आफ्नै श्रीमती गौरी रावतको हत्या गरी भारत भागेका थिए । घटना भएको १७ वर्षपछि उनलाई जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाको छ ।

रामबहादुर जुनीचाँदे गाउँपालिका १ काप्रा भन्ने ठाउँमा घर बनाएर बसेका थिए । भारत भागेर उनी १० वर्षपछि फर्केर जाजरकोट पुगेका थिए ।

उनले त्यही अर्को विवाह कान्छी श्रीमती ल्याएर बसेका थिए । प्रहरीका अनुसार रामबहादुरले ६६ वर्षको उमेरमा २८ वर्षीय महिलासँग विवाह गरेका थिए । जुनीचाँदे रामबहादुरको पुर्ख्यौली थलोसमेत हो ।

गौरीको हत्या गर्दा रामबहादुर ५६ वर्षका थिए । गौरीको हत्या गरी गोठमा शव फालेर भागेका थिए । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार