जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीको होटल खर्चबारे स्पष्टीकरण दिएको छ। असार २२ गते एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिइएको हो ।
२०८० कार्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट केन्द्रबिन्दु बनाई गएको विनासकारी भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि समितिका सभापति माननीय रामहरि खतिवडाको नेतृत्वमा रहेको टोली कार्तिक २२ गते पुगेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकपश्चात् सदरमुकामस्थित होटल थकाली भान्सा घर जाजरकोटमा बास बसेको थियो।
उक्त होटल सेवाको खर्चबापतको ३४ हजार ७८० रुपैयाँ सभापति खतिवडाले भुक्तानी गर्न खोज्दा जाजरकोट जिल्लाका केही जिम्मेवार नेताहरूले आफूहरूले भुक्तानी गर्ने जिम्मा लिएको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कार्यवाहक सभापति खडकबहादुर बुढाका अनुसार, भुक्तानी हुन नसकेको उक्त रकम नेपाली कांग्रेस जाजरकोटले नै भुक्तानी गरिसकेको छ।
सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति खेद प्रकट
केही सामाजिक सञ्जाल तथा मिडियाहरूमा रामहरि खतिवडाले ‘भात खाएको पैसा नतिरेर भागेको’ भनी भ्रम फैलाएको प्रति सिंगो नेपाली कांग्रेस जाजरकोटले खेद प्रकट गरेको छ। नेपाली कांग्रेस जाजरकोटले समाजमा गलत भ्रम फैलाएर नकारात्मक सन्देश प्रवाह गरी आफ्नो स्वार्थ सिद्ध गर्न उद्धत झुण्डहरूको बदनियतपूर्ण र भ्रामक कुप्रचारमा विश्वास नगर्न अनुरोध गरेको छ।
पार्टीले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडाको मानमर्दन र चरित्रहत्या गर्ने उद्देश्यले जुन प्रकारको कुप्रचार गरिएको छ, त्यो नितान्त राजनीतिक प्रतिशोध र आफ्ना कमजोरीहरू ढाकछोप गर्न लगाइएको लान्छनाबाहेक अरू केही हुन नसक्ने बताएको छ। नेपाली कांग्रेस जाजरकोटले पुनः सबैमा भ्रममा नपर्नका लागि अपिल गरेको छ ।