काठमाडौं । विपिन प्रसाद शर्माको घातक बलिङ र रौनक श्रीवास्तवको विस्फोटक ब्याटिङमा नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
प्रतियोगितामा अपराजित नेपालले ४ खेलबाट ८ अङ्क जोड्दै समूह विजेता बनेको हो। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाली युवा टोलीले समूह चरणको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको फराकिलो जित निकालेको हो। नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ३२।४ ओभरमा ६० रन बनाउँदा अलआउट भयो।
भुटानलाई सस्तैमा रोक्न विपिनले चार विकेट लिए। विपिनले आफ्नो स्पेलमा ६ ओभर मेडन राख्दै चार विकेट लिँदा मात्र ७ रन दिए। सचिन भट्टले सात ओभरमा ५ ओभर मेडन राख्दै १३ रन दिएर २ विकेट लिए। सुयोग भट्टराईले ५ ओभरमा १ मेडन राख्दै १२ रन दिएर १ विकेट आफ्नो नाममा गरे।
भुटानका लागि शेजाङ दावाले बनाएको १४ रन नै सर्वाधिक रह्यो। ओपनर उग्यान केल्जाङ चोपेलले १० रन थपे। अन्यले दोहोरो अङ्कको स्कोर छुन सकेनन्। नेपालले २२ रन अतिरिक्त रन दिएको थियो। त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको थियो।