काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।
प्रेस सेन्टर चितवनले दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् ।
दाहालले भने, ‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईहरूले पनि थाहा पाउनु भएको छ र हामीले पनि थाहा पाएकै छौँ ।’
यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनको भनाइ थियो । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ ।
उनले थपे, ‘मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।’ प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए ।
अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।