काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ ।
बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्य तालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुंगेलले जानकारी दिए । मतदान विद्युतीय मेसिनबाट हुनेछ ।
उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ ।
२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एक जना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवारी परेको छ । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउनका लागि विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिए ।
राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने जानकारी दिए ।
महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्ने छन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ ।
अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो ।