काठमाडौं । नेपाल कांग्रेसमा शेरबहादुर देउवा दुई कार्यकाल सभापति भएपछि आगामी १५ औँ महाधिवेशनमा नेतृत्वबाट बिदा हुँदै छन् । पार्टी सभापति को हुन्छन्? भन्ने सवालमा कांग्रेसभित्र लेखाजोखा हुन थालिसकेको छ ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । तेस्रो कार्यकाल अध्यक्ष हुने इच्छा राखेपछि पार्टीभित्र हुन/नहुने बहस सुरु भएको छ । ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एक पक्षले जोडतोडका साथ लागेको छ ।
पार्टीभित्रकै अर्को पक्ष एउटै व्यक्ति कार्यकारी पदमा दुई पटक बस्न नहुने र उमेर हद मान्नुपर्ने वकालत गर्दै आएका छन् । एमालेमा पार्टी नेतृत्वमा बस्न ७० वर्षे उमेर हद कायम छ ।
एमालेले आगामी भदौमा हुने नीति महाधिवेशनबाट उमेर हद र कार्यकारी पदमा कति समय राख्ने छिनोफानो गर्ने तयारी गरेको छ । अनेक हत्कण्डा अपनाएर आगामी महाधिवेशनबाट ओली रोक्न उनकै पक्षका नेताहरू सक्रिय भई लाग्न थालेका छन् ।
तर, पार्टीमा लगातार ४० वर्ष नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी अध्यक्षबाट सजिलै बिदा भएर पुस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् । प्रचण्डले उल्टै आफू उमेरले ७१ वर्ष भए पनि २५/२६ वर्षको युवा जस्तै दैनिक १५/१६ घण्टा खट्ने गरेको प्रष्टीकरण दिँदै आएका छन् ।
प्रचण्डको प्रष्टीकरणबाट सजिलै बुझ्न सकिन्छ, नेतृत्व हस्तान्तरण माओवादीमा सजिलो छैन । पार्टीमा प्रचण्डलाई चुनौती दिन कुनै बेला डा. बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ थिए । उनीहरू आफ्नै नेतृत्वमा पार्टी गठन गरेर पुरानो पार्टीबाट बाहिरिसकेका छन् ।
बाबुराम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष छन् । उमेरले ७९ वर्ष पुगेका वैद्य विरामी परी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत छन् । पार्टीको नेतृत्व सिपी गजुरेलाई दिएर वैद्य रोगसँग संघर्षरत छन् ।

प्रचण्ड प्रायः आफूलाई चुनौती दिने र आलोचना गर्नेलाई रुचाउँदैनन् । पछिल्लो समय नेतृत्वको हस्तान्तरण सवाल पार्टी उपमहासचिव जनार्दन शर्माले उठाएपछि उनी स्वतः किनारा पर्दै जाने निश्चित छ । पछिल्लो समय प्रचण्ड पक्ष नेताहरूले शर्मा पक्षका नेतालाई थोरै आलोचना गर्दासमेत विरोधी कित्तामा उभ्याउने गरेका छन् ।
अध्यक्ष प्रचण्ड २०४२ सालको सेक्टर काण्डपछि नेतृत्वमा उदाएका थिए । एकता केन्द्रको महासचिव हुँदै नेकपा माओवादीको अध्यक्ष भएर १० वर्षे जनयुद्धको हाक्ने अवसर पाए । पार्टीको नामै मात्र सात पटक परिवर्तन गर्दा उनी आफै नेतृत्व गर्दै आएका छन् ।
पछिल्लो पटक प्रचण्ड पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र राय यादव नेतृत्वको नेसपासँग एकता गरेर पार्टी नाम परिवर्तन गरेर नेतृत्व गर्ने रणनीतिमा लागेका छन् ।
आफू एउटै पार्टीको नेतृत्वमा लामो समय नबसेर फरक फरक पार्टीको नेतृत्व गरेकाले एउटै व्यक्तिले लामो समय भन्न नमिल्ने जवाफ दिने गरेका छन्, उनी । प्रचण्डले जति नै नेतृत्वमा बस्न तर्क र तथ्य पेश गरे पनि नेतृत्व छाड्नुपर्ने बहस थप बलियो हुने गरेको छ ।
अध्यक्ष प्रचण्ड जनयुद्धकै बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक धर्म निरपक्षेतासहित आमउत्पीडित समुदाय नेतृत्वमा आउने अपवादमा पाउने अवसर पाए । देशको परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पाएका प्रचण्डले नेतृत्व पुस्तान्तरण रूचि देखाउँदैनन् ।

नेतृत्वको प्रश्न आउँदा प्रचण्डले राजनीतिक, वैचारिक रुपमा नेतृत्व गर्ने नेता नदेखेको बताउछन् । उनलाई चुनौती दिने गरी अरु नेता कोहीँ नभएकाले आजीवन नेतृत्वमा बस्न सक्ने नेता कार्यकर्ता बताउने गरेका छन् । पार्टी उपमहासचिव शर्मा यसअघि नेतृत्व हस्तान्तरणको प्रश्न सशक्त रुपमा उठाउने गरे पनि पछिल्लो समय सेलाउँदै गएको आभास हुन थालिएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जनयुद्धको पृष्ठभूमि नभएकाले अर्को पक्ष नेताहरु सजिलै मान्ने स्थिति देखिदैन । पार्टी नेतृत्वमा दोस्रो तहका नेताहरुले ठाडै चुनौती दिने अवस्था नभएकाले प्रचण्डले आफै लामो समय नेतृत्व गर्न सक्ने विश्लेषण गर्न थालिएको छ ।
तर, माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखनाथ न्यौपानेले पार्टी नेतृत्व प्रचण्डले छाड्नेभन्दा प्रतिस्पर्धाको वातावरण बनाए धेरै विषय हल हुँदै जाने प्रतिक्रिया दिए ।
‘पार्टी नेतृत्व मागेर पाउने विषय होइन, एउटै व्यक्ति लामो समय नेतृत्वमा बस्नु राम्रो मानिदैन,’ न्यापानेले खबर विन्दुसँग भने, ‘पार्टी नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा गर्ने वातावरण भएमा धेरै विषय हल हुन्छन्, सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा लामो समय एउटै नेतृत्व बस्नु रामो मानिदैन ।’