काठमाडौं । निरन्तर अवरोध भएको संसद खुल्ने संकेत देखिएको छ । जेठ १३ गतेदेखि अवरोध भएको संसद झण्डै दुई हप्तापछि संसद खुल्ने संकेत देखिएको हो ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएपछि प्रतिपक्ष नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेकपा एकीकृत समाजवादी लगायत दलले संसद अवरोध गर्दै आएका छन् । गृहमन्त्रीले राजीनामा नदिएर उनको बारेमा छानबनि समिति बनाएर संसद खोल्ने तयारी भई रहेको माओवादी केन्द्रका एक सांसदले बताए । ‘अब संसद लामो समय अवरोध गरेर जानु हुँदैन भन्ने छ । गृहमन्त्रीका बारेमा छानबिन समिति बनाएर संसद खोल्नुपर्छ भन्ने मोटामोटी समझदारी भएको छ । यद्यपि फाइनल निर्णय भएको छैन’ ति सांसदले भने ।
संसद खुलाउने बारेमा आइतबार बिहान सभामुख देवराज घिमिरेले तीन दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिपक्ष दलका नेतहरुसंग छलफल गरेर सुझाव लिएका थिए । त्यसपछि अहिले अध्यक्ष प्रचण्ड कांग्रेस नेतासँग बसेर छलफल गरी रहेका छन् । अन्तिममा तीन दलका शीर्ष नेताहरु बसेर एक पटक छलफल गरेपछि संसद खुल्न सक्ने ति सांसदको अनुमान छ ।