काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । गत जेठ १५ गते रातिबाट नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भागमा विस्तार भएको छ ।
आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।