पार्टी नेतृत्वमा बुढाहरूको रजाइँ, भातृ संगठन उमेर हदको लगाम

0 Shares

संजय थापा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्वावियू)को निर्वाचनमा २८ वर्षे उमेर हद (२०७३ साल)देखि लगाएपछि पार्टीका प्रायस् जसो भातृ संगठनसमेत उमेर हद लगाउने अवस्थामा पुगे । अहिले प्रायस् पार्टीका भातृ संगठनमा उमेर हद लगाए पनि पार्टी नेतृत्वमा भने उमेर हद नहुँदा बुढाहरूले रजाइँ गर्दै आएका छन् ।

नेपाली कांग्रेसले सबैभन्दा पहिले नेपाल विद्यार्थी संघमा ३२ वर्षे र तरुण दलमा ४५ वर्षे उमेर हद लगाएको थियो । त्यसपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ३२ वर्षे र योङ कम्युनिस्ट लिग (वाईसिएल)ले ४० वर्षे उमेर हद लगाउने निर्णय गरेको थियो । त्यसपछि नेकपा एमाले निकट अनेरास्ववियुले भर्खरै ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेपछि निर्वाचन हुँदैछ ।

युवा संघ नेपालले यसअघि ४० वर्षे उमेर हद लगाएको थियो । नेकपा एकीकृत समाजवादी पार्टीले समाजवादी विद्यार्थी संगठनमा उमेर हद लगाउने विषयमा छलफल प्रवेश गराएको छ । तर, पार्टी नेतृत्वमा उमेरले परिपक्क भई हिँड्नसमेत नसक्ने नेताहरू नेतृत्व तत्कालै छाड्ने तत्परता देखाएका छैनन् ।

राजनीतिक विश्लेषक झलक सुवेदीले पार्टी नेतृत्वमा उमेर हद तोक्ने प्रायस् प्रचलन नभएको प्रतिक्रिया दिए । उनले भने, ‘विश्वभर पार्टी नेतृत्वमा यति-उति वर्ष हुनुपर्छ भनेर उमेर तोकेको खास्सै पाइँदैन, बरु नेतृत्वको कार्यकाल तोकेर बिदा गर्ने गरेको पाइन्छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीमा पहिला उमेर हद तोकिए पनि पछिल्लो समय हटाएको सुवेदीको भनाइ छ । नेपालका प्रायस् पार्टीको नेतृत्वमा कार्यकाल र उमेर दुवै नहुँदा एउटैले वर्षौंसम्म नेतृत्व गर्ने अवसर पाएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा दुई कार्यकाल (८ वर्ष सभापति) भइसकेका छन् । तेस्रो कार्यकाल सभापति हुन नमिल्ने भएपछि देउवा पार्टी नेतृत्वबाट बिदा हुने भएका छन् । यसपछि कांग्रेसमा युवा नै नेतृत्वमा आउँछन् वा बुढा नेता दोहोरिन्छ त्यो आगामी महाधिवेशनले फैसला गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । तेस्रो कार्यकाल अध्यक्ष हुन गृहकार्य थालिसकेका छन् । उनले अझै २०/२५ वर्ष पार्टी नेतृत्व नछाड्ने सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका छन् । पार्टी नेतृत्वमै आउन ७० वर्षे उमेर हद यसअघिको महाधिवेशनबाट हटाएका थिए ।

पार्टी नेतृत्व छाड्न नमानेपछि एमालेका धेरै नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सार्ने तयारी गरेका छन् । उमेरले ७४ वर्ष पुगेका ओली अझै पार्टीमा हालीमुहाली गर्ने योजनामा छन् । भातृ संगठनमा उमेर हद लगाएर धेरै नेतालाई बिदा गरे पनि आफूले नेतृत्व नछोड्दा युवाले अवसर पाएका छैनन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीमा ४० वर्षदेखि नेतृत्व गर्दै आएका छन् । प्रचण्डले अझै एक कार्यकाल अध्यक्षमा दोहोरिने इच्छा मात्रै होइन आजीवन नेतृत्व छाड्ने संकेत देखाएका छैनन् । उनले उल्टै आफू ७१ वर्ष भए पनि २४/२५ वर्षे युवा जस्तै देशभर कुद्ने गरेको बताउँदै आएका छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १६ वर्ष एमालेको नेतृत्व गरेका थिए । उनले एमाले विभाजन गरेपछि एकीकृत समाजवादीको नेतृत्व गर्दै आएका छन् । पार्टीभित्र नेपालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने नेताहरूले आवाज उठाउँदै आएका छन् ।

एउटै व्यक्तिले लामो समय नेतृत्व गर्दा सार्वजनिक वृत्तमा समेत पुराना नेताको आलोचना हुँदासमेत छाड्ने संकेत देखाएका छैनन् । तर, पार्टीभित्र भातृ संगठनमा उमेर हदको बन्ध्याकरण गरेर युवालाई नेतृत्वमा आउन रोक्ने गरेको नेताहरू बताउँछन् ।

सम्बन्धित समाचार