नेपाललाई विश्व बैंकले ३५ अर्ब सहायता दिने, केमा हुँदैछ खर्च ?

0 Shares

काठमाडौं । विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ ।

बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो । सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमअनुसार, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई थप समृद्ध बनाउने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणद्वारा कार्यान्वयन गरिने यस परियोजनाले नयाँ वितरण सबस्टेसन निर्माण, विद्यमान प्रसारण एवं वितरण प्रणालीको सुधार गरिने छ । विद्युत् आपूर्तिलाई थप विश्वसनीय बनाउन सो परियोजना सहायक सिद्ध हुने बताइएको छ ।

यस्तै, रानी जमरा कुलरिया सिँचाइ परियोजनाको तेस्रो चरण कार्यान्वयन गरी कैलाली जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।

सिँचाइ सुविधा विस्तार गर्दै १७ हजार ५०० हेक्टर जमिनलाई खेती योग्य बनाउने लक्ष्य राखिएको छ । त्यसबाट एक लाख ६० हजार मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार