प्रचण्डलाई गृहमन्त्रीको राजीनामा नमाग्न प्रधानमन्त्री र देउवाको आग्रह, बैठक निष्कर्षविहिन

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शिर्ष नेताको सिंहदरबारमा बसेको बैठक निष्कर्षविहिन बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदको अवरोध अन्त्य गर्न भन्दै प्रधानमन्त्रीले बोलाएको बैठक निष्कर्षविहिन भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण फगत कर्मचारीको विषय भएको र गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएका थिए । सत्तापक्षले सो अडान राखेपनि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सुशासनलाई केन्द्रित गर्नुपर्ने भन्दै आफ्नो अडान राखेको माओवादी केन्द्रका प्रमुख सचेत हितराज पाण्डेले जानकारी दिए ।

‘आजको बैठकमा संसद्को गतिरोध कसरी अन्त्य गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल मात्रै भयो, कुनै ठोस निर्णय हुन सकेन ।’, उनले थपे, ‘सत्तापक्ष दलहरूले अब राजीनामा होइन संसद खोलेर अगाडि बढ्नुपर्छ भनेर आग्रह गर्नुभयो । हाम्रो तर्फबाट हामीले जसरी सुशासनलाई केन्द्रित गरेर यो विषयवस्तु राखेका छौं, यो सुशासनको विषय चाहिँ महत्त्वपूर्ण हो भन्नेमा अडान राख्यौँ । अरु नयाँ विषयवस्तु केही पनि भएन। छलफल गर्दै जाने सहमति भएको छ ।’

त्यस्तै उनले सत्तापक्षले भिजिट भिसा प्रकरण कर्मचारीको विषय भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने अडान राखेको बताए । त्यस्तै आजको बैठकमा राजावादी शक्तिहरुको गतिविधिको विषयमा पनि कुराकानी भएको र त्यसका विरुद्ध शसक्त ढंगले लाग्नुपर्ने विषयमा छलफल भएको पाण्डेले बताए ।

सम्बन्धित समाचार