काठमाडौँ । नेकपा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेकपा एकीकृत समाजावादी लगायत दलले संसद अवरोध जारी राख्ने भएका छन् । संवैधानिक प्रावधान बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था भएकाले संसद अवरोध स्थगित भए पनि अब बस्ने जेठ २० गतेको संसद बैठक चल्न नदिने बताएका हुन् ।
सभामुख देवराज घिमिरेले शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र सहित सबै दलका प्रमुख सचेतहरुलाई बोलाएर सिंहदरबारमा छलफल गरेका छन् । सभामुखसंगको छलफलमा प्रतिपक्ष दलका प्रमुख सचेतकहरुले गृह मन्त्री रमेश लेखकले राजीनामा दिएर उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडान दोहो¥याएका हुन् । सभामसंग छलफल सकिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बटम लाइन बनएको प्रतिर्किया दिए ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले संसद अवरोध जारी राख्ने निर्णय गरेको छ । पार्टी सचिव लिलामणि पोखरेलले गृहमन्त्री भिजिट भिषा प्रकरणमा लाखौ रुपिया असुलेको आरोप लागेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । गृहमन्त्रीले पदबाट राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निर्णय भएको पोखरेलको भनाई छ ।
माओवादी बैठकले जेठ २१ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको लमजुङबाट पूर्वी नेपालतिर पार्टी अभियान जाने भएको छ ।