काठमाडौं । बजेट भाषणको मुखमा संघीय संसद अवरुद्ध भएसँगै सभामुख देवराज घिमिरेले सहजीकरणको लागि दलका प्रमुख सचेतकहरूसँग बैठक बसेका छन् ।
गृहमन्त्री रमेश लेखकले सहसचिव तीर्थराज भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरी भिजिट भिसामार्फत मानव तस्करी गरेको भन्दै प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेका हुन् ।
मंगलबार ११ बजे बसेको संसद बैठक नसकी बुधबार बिहान बस्ने गरी बोलाइएको थियो । यसबीच बैठक बस्ने अवस्था नभएपछि दलका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन् ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले सिंहदरबारस्थित आफ्नो कार्यकक्षामा सचेतकहरूसँग छलफल गरेका हुन् ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय छ ।
यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने छन् । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।
यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने छन् ।
युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए ।
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दै छ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छ ।
राष्ट्रियसभाको बैठकमा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । तर, प्रतिपक्षी दलले गृहमन्त्रीले मानव तस्करी गरेको भन्दै राजीनामा माग गरेका छन् ।