ओली फेरि नेतृत्वमा आउने मनोकांक्षा, अर्को पक्षले विद्यालाई सक्रिय बनाउँदै

0 Shares

संजय थापा

काठमाडौँ । ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०-२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ यो उद्घोष प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हो ।

नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई गत वैशाख ९ गते सम्बोधन गर्नेक्रमा ओलीले अहिले नै कसैले हतार गर्न नहुने प्रस्ट पारे । उक्त उद्घोषबाटै बुझ्न सकिन्छ एमाले अध्यक्ष ओली सजिलै पार्टीको नेतृत्व छोड्ने पक्षमा देखिँदैनन् । २०७१ सालमा भएको एमाले नौ महाधिवेशनमा १६ वर्ष पार्टी नेतृत्व गरेका माधवकुमार नेपाललाई हराएर पहिलो पटक पार्टी नेतृत्वमा पुग्न सफल भए ।

नेपाललाई हराएर ओली पहिलो पटक नेतृत्वमा उदाएपछि कसैलाई नेतृत्व छोड्ने पक्षमा देखिएका छैनन् । त्यसपछि भएको एमाले दशौँ महाधिवेशनमा उपाध्यक्ष भीम रावललाई हराएर २०७८ साल मंसिर १४ गते अध्यक्षमा दोस्रो पटक निर्वाचित हुन सफल भए ।

पार्टी नेतृत्वमा सर्वसम्मत बनाउन भूमिका नखेलेको भन्दै उपाध्यक्ष रावललाई पार्टीबाटै निस्कासन गर्ने अवस्थामा पुर्याए । पार्टी नेतृत्वमा १० वर्ष नेतृत्व गरेका ओली तेस्रो पटक अध्यक्ष हुन आफ्नो तर्फ प्रयास जारी राखेका छन् । ओलीसँग पराजित भएका नेपालले आफ्नै नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका छन् भने रावल समेत आफ्नै समूह गठन गरेर सक्रिय छैन । ओलीलाई ठाडै चुनौती दिने एमालेमा उनका समकक्षी कोही नेता छैनन् ।

यदि ओलीको विकल्पमा आए पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । भण्डारी ओलीसँग प्रतिस्पर्धा गर्ने भन्दा सल्लाहमै नेतृत्वमा आउने अवस्था देखिएको एमालेका नेताहरू बताउँछन् । अहिले भण्डारी चीनको उच्चस्तरको भ्रमणमा गएकाले राजनीतिक रूपमा संवाद हुने बताएको छ । चीनले समेत भण्डारीलाई बहालवाला राष्ट्रपतिकै हैसियतमा स्वागत, सत्कार र सम्मान दिएको छ । भण्डारी चीनबाट फर्किएपछि एमालेको भावी नेतृत्वको विषयमा नयाँ तरिकाले प्रवेश पाउन सक्ने धेरैको आकलन छ ।

यता एमाले विधान बमोजिम २०७३ साल मंसिरभित्र ११औँ महाधिवेशन गर्नै पर्ने बाध्यता छ । उमेरले ७४ वर्ष पुगेका ओली निरन्तर निवृत्तमा पुग्न पार्टीभित्र कार्यकारी भूमिकाका लागि ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको प्रष्टीकरण दिएका थिए । ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूलाई पार्टीभित्र ल्याउन उमेर हद हटाएको दाबी गरे पनि आफ्ना लागि ढोका खोल्न उमेर हद हटाएको सजिलै बुझ्न सकिन्छ । यदि ओली ११औ महाधिवेशनबाट नेतृत्वमा पुगे ७८ वर्षसम्म बहालमा हुने छन् । जीर्ण स्वास्थ्यका बापजुत एमालेलाई कति सक्रिय बनाएछन् भन्नेमा पछिल्लो समय एमालेकै नेता कार्यकर्ता आशंका व्यक्त गर्न थालेका छन् ।

ओलीको सबैतिर बदनाम हुँदा क्रेज घट्दो
२०७२ साल असोज २ गते संविधान घोषणा भएपछि भारतले अघोषित रूपमा नाकाबन्दी गरेपछि ओलीको क्रेज ह्वात्तै बढेको थियो । सरकारको नेतृत्व गरेका बेला नाकाबन्दीको सशक्त विरोध गरेपछि ओलीको राष्ट्रवादीको ट्याग भिराएको थियो ।

त्यसको फाइदा २०७४ सालको निर्वाचनमामा एमालेले समेत राम्रोसँग अवसर लिने मौका पाएको थियो । एमाले माओवादी एकतापछि प्रधानमन्त्री भएका ओली दुई पटक संसद् भङ्ग गरेपछि जनस्तरबाटै व्यापक विरोध भयो । सर्वोच्च अदालतले दुई पटक संसद् पुनस्र्थापना गरेपछि ओली रक्षात्मक बन्न पुगेका थिए ।

यद्यपी २०७९ सालको निर्वाचनमा एमालेलाई खासै असर परेन । माओबादी र कांगे्रस मिलेर चुनाब लडेकाले असन्तुष्ट पक्षले एमालेलाई मत दिदा उसको शक्ति नघटेको हो ।

तेस्रो पटक काँग्रेसको बैसाखी टेकेर प्रधानमन्त्री भएका ओली यस पटक अत्यन्तै कमजोर भएका छन् । ओली कमजोर हुँदा एमालेलाई समेत नराम्रोसँग क्षति पुगेको छ । ओली निकट भनिएका अधिकांश नेताहरू पूर्व राष्ट्रपति विद्या भण्डारी गुटमा लागि सकेका छन् । ओलीबाट पार्टी चल्न नसक्ने भन्दै नेतृत्वमा आउन विद्यालाई उक्साउने गरेका छन् । जनस्तरमा समेत ओली सबैतिर बदनाम हुँदा सार्वजनिक कार्यक्रममा समेत मुर्दावादका नारा लाग्न थालेका छन् ।

ओलीले आफ्नै सहयोद्धा भीम रावललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि त्यसको असर एमाले सुदूरपश्चिम प्रदेशसँगै अन्य क्षेत्रमा परेको छ । पार्टी नेता डा बिन्दा पाण्डे र उषा किरण तिमिल्सनाले पार्टी नीति विपरीत आलोचना गरेको भन्दै स्पष्टीकरण सोध्दा एमालेप्रति नकारात्मकता बढेको छ । केही समय अघि एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको आलोचना गरेपछि स्पष्टीकरण धम्की दिएपछि पार्टी बैठकमै समेत चर्काचर्की परेको थियो । पार्टीभित्र नेतालाई अस्वाभाविक रूपमा कारबाही र जिम्मेवारीविहीन बनाएपछि त्यसको असर एमालेसँगै ओलीलाई परेको छ ।

तर, एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी महाधिवेशनका बारेमा औपचारिक अनौपचारिक रूपमा चर्चा हुन नपाएको प्रक्रिया दिए । ‘अध्यक्ष केपी कमरेडले अझै २०/२५ वर्ष पार्टी नेतृत्व गर्छु भन्नुभएको छ । त्यो सुन्दा उहाँ नै नेतृत्वमा आउन सक्नुहुन्छ । नभए महाधिवेशनको समय आएपछि नेतृत्वको बारेमा केही भन्न सकिएला ।’ एमलेमा ओलीको एकछत्र राज भएकाले मन नपराउनेहरू समेत खुलेर सार्वजनिक रूपमा विरोध गर्न सक्ने अवस्था छैन । तर, पार्टीमा ओलीको लोकप्रियता अस्वाभाविक रूपमा घटेको एमालेकै नेता कार्यकर्ता स्वयम स्वीकार गर्ने गरेका छन् ।

सम्बन्धित समाचार