राजावादी नेतालाई ज्ञानेन्द्रको दबाब, राजतन्त्र फर्काउन निर्देशन

0 Shares

संजय थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गणतन्त्र दिवसको दिन अनिश्चित कालीन आन्दोलन गर्ने घोषणा गरेको छ । सरकारले गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेर १८ औँ गणन्तन्त्र दिवस जनस्तरमा मनाउने निर्णय गरेको छ ।

तर, त्यसको ठिकविपरीत नवराज सुवेदी नेतृत्वमा राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दु राज्यलगायतका मागहरू राखेर आगामी जेठ १५ गतेबाट अनिश्चित कालीन आन्दोलनको घोषणा गरेका हुन् ।

दुर्गा प्रसाईको नेतृत्वमा गत चैत १५ गते काठमाडौं तीनकुनेमा भएको घटनाले राजावादीलाई नराम्रोसँग धक्का लाग्यो । उक्त घटनामा पत्रकार सुरेश रजक र सुविन महर्जनको मृत्यु हुनुका साथै मिडिया, विभिन्न दलको पार्टी कार्यालय र उद्योगमा आगजनी हुँदा त्यसको राजावादीले क्षति व्यहार्नु प¥यो ।

राप्रपाका पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ५० दिन हिरासतमा बसेर रिहा भए । सांसद एवं पार्टीका महामन्त्री धवल शमशेर तत्काल छुटेका थिए । तर, राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई अझै जेलमै छन् । उनीविरुद्ध सरकारले राज्यविरुद्धको मुद्दा चलाउने तयारी गरिरहेको छ ।

तीनकुने घटनाबाट पाठ सिकेका राजावादीले आन्दोलनलाई हिंसात्मक नबनाउने अवस्थामा पुगेको नेताहरू बताउँछन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर थापा नेतृत्वको पार्टीलगायत सबै राजावादी एक ठाउँमा आउँदा पहिलेभन्दा बढी आत्मविश्वासी बनेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेतामाथि दबाब दिँदा एक ठाउँमा आउने अवस्थ बनेको हो । राजावादी एक ठाउँमा आएर सशक्त भएपछि गणतन्त्रवादीलाई चुनौती बढेको छ । तीनकुने घटनामा राजावादी हिंसात्मक बन्दा त्यसको फाइदा गणतन्त्रवादी दलले लिने अवसर पाएको थियो । राजावादी कस्ता हुन्छन् भन्नेबारे गणतन्त्रवादी व्याख्या गर्दै आफ्नो कमजोरी ढाक्ने प्रयास गरेको देखिन्छ ।

राजावादीको १५ गते गर्ने भनिएको आन्दोलनको तयारीबारे खबर विन्दुसँग राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गणतन्त्र दिवसकै दिन आक्रमक प्रदर्शन गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, ‘हामीले व्यापक जनसहभागितामा जनप्रदर्शन गर्ने तयारी गरेका छौँ, त्यसमा हजारौँ मान्छे सहभागी हुनेछ, हाम्रो पक्षमा माहोल विस्तारै आउँदै छ ।’

प्रवक्ता श्रेष्ठले जनप्रदर्शन कहाँ र कसरी गर्ने भन्ने सवालमा आपसी छलफल गरेर निर्णय गर्ने बताए । आगामी राजावादीका आन्दोलन शान्तिपूर्ण रुपमा हुने उनले दाबी गरेका थिए । गणतन्त्र दिवसकै दिनदेखि सुरु हुने आन्दोलनले मात्रै राजावादीको संघर्षको कार्यक्रम तय गर्ने छ ।

यदि, राजावादीको आन्दोलन थप हिंसात्मक भए सरकारले दमन गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी जेठ १५ गते राजावादीलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिए ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता गुरुङले सरकारले देखाएको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका हुन् । उनले राजावादीको गतिविधिबाट सरकार नडराएको भन्दै उनले उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको बताएका थिए ।

‘त्यो दिनको प्रदर्शन कति ठूलो होला भन्ने चाहिँ त्यही दिनको प्रदर्शनले देखाउँछ, तर, हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई अधिकार छुट दिएकै छ, यो हाम्रो कमजोरी होइन,’ मन्त्री गुरुङले भने, ‘हामी डराएका हैनौँ, त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ, हामीले उदारतापूर्वक अभ्यास गरौँ न भनेर छाडिदिएका हौँ ।’

राजावादीले आन्दोलनको तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले नगरकोटमा बसेर एक–एक गरी राजावादी नेताहरूसँग एक हप्तासम्म ‘भाइभा’ लिएका थिए । यस क्रममा उनले आगामी दिनमा कसरी आन्दोलनलाई प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल गरेका थिए ।

नगरकोटबाट फर्किएसँगै ज्ञानेन्द्रले आफ्नै होटल सोल्टीमा बोलाएर लञ्च पार्टी दिएका थिए । यो लञ्च पार्टीमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष लिङदेन, राप्रपा नेपालका अध्यक्ष थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष बिष्ट सहभागी भएका थिए ।

त्यसो त, राजतन्त्र पुर्नस्थापना गर्न प्रत्यक्ष रुपमा पूर्व राजा ज्ञानेन्द्र निरन्तर लागिरहेका छन् । तीनकुने घटनामा उनले नै उस्काएको भन्दै सांसदहरूले माग गरिरहेका छन् । आन्दोलनमा सक्रियता नदेखाएको भन्दै यसअघि कमल थापालाई ज्ञानेन्द्रले पार्टी अध्यक्षबाट हटाएर लिङ्देनलाई बनाएका थिए ।

षड्यन्त्रपूर्वक तरिकाले आफूलाई अध्यक्षमा हराएपछि कमल थापा ज्ञानेन्द्रप्रति आक्रोशित हुँदै राजतन्त्र पुर्नस्थापना गर्न आन्दोलन नगरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसैले पनि गणतन्त्रविरुद्ध निरन्तर लागिरहेका घटना क्रमले देखाएका छन् ।

सम्बन्धित समाचार